फेरि रोक्यो पाकिस्तानले मोदीको बाटो !

 कात्तिक ११, २०७६ सोमबार १३:४७:३ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

पाकिस्तानले फेरि एक पटक भारतको अनुरोधलाई बेवास्ता गर्दै अस्वीकार गरेको छ । भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्ने अनुमति मागेको थियो ।

आइतबार पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भने, ‘आज २७ अक्टोबर हो । यो कश्मीरका लागि कालो दिन हो । हामीले कश्मीरमा भैरहेको मानव अधिकार उल्लंघनलाई मध्यनजर गर्दै भारतको अनुरोध अस्वीकार गरेका हौँ ।’

कुरैशीले पाकिस्तानमा रहेको भारतीय दूतावासलाई जानकारी दिएको पनि बताए । पछिल्लो दुई महिनामा भारतको आग्रहलाई पाकिस्तानले दोस्रो पटक अस्वीकार गरेको हो । यसभन्दा पहिले सेप्टेम्बर २० मा जर्मनी जानका लागि मोदीको जहाजलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोगका लागि भारतले अनुमति मागेको थियो । त्यति बेला पनि कश्मीर विषयमा चिसिएको दुई देशबीचको सम्बन्धका कारण देखाउँदै पाकिस्तानले अनुमति दिएको थिएन ।

पाकिस्तानले अनुमति नदिएपछि सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एअर इण्डिया वान जहाजलाई साउदी अरब जानका लागि लामो दूरी तय गर्नु पर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साउदी अरेबिया पुग्दैछन् ।

उनले साउदी राजकुमार मोहम्मद बिन सलमान र राजा सलमानसँग भेट्दै छन् । मोदीले साउदी अरब पब्लिक इन्भेस्टमेन्ट फन्डले आयोजना गर्ने लगानी सम्मेलनमा सम्बोधन गर्नेछन् । यो लगानी सम्मेलनलाई डाभोस अफ् डेजर्ट्सका नामले पनि चिनिन्छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया