कश्मीर : तीन महिनामा १० हजार करोड रुपैयाँभन्दा बढी नोक्सान

 कात्तिक ११, २०७६ सोमबार १९:४०:८ | एजेन्सी
unn.prixa.net

जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० खारेजपछि त्यहाँको अर्थ व्यवसाय पनि चौपट भएको छ ।

सुरक्षा चुनौती देखाउँदै लगाइएको प्रतिबन्धका कारण कश्मीरको व्यावसायिक समुदायले १० हजार करोड भारतीय रुपैयाँभन्दा बढीको नोक्सान बेहोर्नु परेको कश्मीर चेम्बर अफ् कमर्स इन्डस्ट्रीले जनाएको छ । कश्मीर चेम्बर अफ् कमर्स इन्डस्ट्रीका अध्यक्ष शेख आशिकका अनुसार कश्मीरको अवस्था सामान्य नहुँदासम्म कति क्षति बेहोर्नु पर्ने हो भन्ने विषयमा अनुमान पनि गर्न नसकिने बताए ।

भारतको केन्द्र सरकारले ५ अगस्ट २०१९ मा जम्मू कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खारेजीसँगै केन्द्र सरकारको मातहतमा ल्याएको थियो । त्यसपछि राज्यमा कैयौँ तरहका प्रतिबन्ध लगाइएको छ ।

सोमबार यो प्रतिबन्ध लगाइएको ८५ दिन पुगेको छ । कश्मीरका मुख्य बजार अहिले पनि बन्द नै रहेका छन् । सार्वजनिक सवारीका साधन सडकमा गुडेका पनि छैनन् ।

शेख आशिकका अनुसार श्रीनगरको लाल चोकमा बिहान एकछिन र साँझ हुनुपूर्व केही समय पसल खोल्न दिइएको छ । तर मुख्य बजार भने बन्द नै रहेका छन् । यस्तो अवस्थाले व्यापारिक समुदायलाई ठूलो झट्का लागेको छ ।

आशिक भन्छन्, ‘कश्मीरमा अहिलेसम्म झण्डै १० हजार करोडभन्दा नोक्सान भैसकेको छ । सबै क्षेत्रले नोक्सान बेहोरेको छ । तीन महिनापछि पनि व्यापारीले कारोबार सुरु गर्न सकेका छैनन् ।’ 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया