‘नानी, तिमी तिहारमा घर नजाने ?’

 कात्तिक ११, २०७६ सोमबार २०:२२:१२ | विना न्याैपाने
unn.prixa.net

केही दिनअघिको कुरा हो, तिहारको बारेमा कुराकानी गर्नका लागि असन पुगेको थिएँ । धेरै जनाले सोधेको प्रश्नको उत्तर दिनुभयो । अरु दोहोरो कुराकानी भएन, अन्तिममा एक जना अन्दाजी ७० वर्षकी आमा भेटिनुभयो ।

उहाँले अरुको भन्दा धेरै भाइमसला  राख्नु भएको थियो । पसल नजिक जानेबित्तिकै मुसुक्क हाँस्नुभयो । त्यो मुस्कानले आफन्तै जस्तो लाग्यो ।  सोधेको प्रश्नको उत्तर पनि मज्जाले दिनुभयो । अन्तिममा भन्नुभयो, ‘नानी तिमी तिहारमा घर नजाने ?’ जाँदिनँ आमा भनेँ । 

उहाँले फेरि प्रश्न गर्नुभयो, ‘किन  नानी ?’ 

मन लाग्दैन । तिहार मन पर्दैन मलाई । यत्ति भन्न नपाउँदै प्रश्न तेस्र्याउनु भयो, दाजुभाइ नेपालमा छैनन् हो ? अनुत्तरित भएँ । हाँस्न खाजेको थिए तर आँसु निस्किएको पत्तै पाइनँ । आमा पछि कुरा गर्छु है भनेर निस्किएँ । मसँग दिन सक्ने उत्तर थिएन । अचम्म मानेर सब जना हेर्दै थिए तर त्यसको कुनै प्रवाह लागेन, लाग्यो त आफ्नै जीवनदेखि । 

जब तिहारको रौनकले घर बजार रन्किन थाल्छ तब मन पीडाले छट्पटिन्छ । सबैको प्रश्न हुन्छ तिहारमा घर नजाने ? टीका कता लगाउने ? अनि दादा बहिर हो ?

यस्ता प्रश्नले हरेक वर्ष तिहार नजिकिँदै गर्दा झेल्नु पर्ने प्रश्न हुन् । म तिहार मन पर्दैन भनेर हिँड्छु तर मन भत्भति पोलेको हुन्छ । कतिका प्रश्नको उत्तर दिँदै हिँड्ने ? बुझ्नेले त दाहोर्याएर सोध्नुहुन्न । तर कतिपय यस्ता व्यक्ति भेटिन्छन, क देखि ज्ञ सम्म भन्नु पर्ने । सबैको चित्त बुझाउन सक्दिनँ ।  

तिहारमा घरदेखि बाहिर भएका आफन्तहरु एकै ठाउँमा भेला भएर रमाइलो गर्दछन् । दाजु बहिनीबीचको माया र खुशी साटासाट गर्ने पर्वको रुपमा पनि चिनिन्छ । यही तिहारले कसैको घरमा खुशीको बहार ल्याइदिन्छ भने कतिको घरमा निराशा ।

मलाई यो प्रश्न नसोध्नु भनेर हिँड्छु । अरु बेलामा पनि धेरैको चासो बन्छ तर अनेक बहानामा टारेर हिँड्छु । सबैका लागि सबै सम्बन्ध कहाँ दिगो हुन्छ र ? सात महिनामा बोली फुट्दा ममीले ‘दादा’ भन्ने शब्दबाटै बोली फुटेकाे भन्नुहुन्थ्याे । धेरै प्रिय शब्द लाग्थ्यो तर क्षणिक रहेछ । दादा भन्ने शब्द अहिले पनि निकै प्रिय लाग्छ तर जसलाई विश्वास गरेर दादा भन्छु त्यै मान्छेको रुप परिवर्तन हुन्छ ।

सुनेको थिएँ रगतको नाताभन्दा भावनाको नाता प्रगाढ हुन्छ तर वास्तविकतामा त्यो भेटिनँ ।  केही समय अगाडि मैले पनि कसैलाई दादा बनाएको थिएँ । मृत्युको मुखबाट मलाई बचाउने व्यत्ति साँच्चै मेरो दादा हो जस्तो लाग्थ्यो । उहाँको केयरिङ अनि सपोर्टले गुमाएको दादा भेटे भन्ने लागेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको अधिकृत कहीँ कतै शंका लागेको थिएन । धेरै भएको थियो तिहारको टीका नलगाएको । यो वर्ष लगाउनु पर्छ भनेर कर गर्नु भएको थियो ।  तर लाइभ कार्यक्रम चलाउनु पर्ने भएकाले टीका लगाउन सकिनँ । यो वर्ष यस्तै भयो दादा अर्काे वर्ष लगाउँछु भनेको थिएँ । विडम्बना अर्काे वर्षसम्म त्यो सम्बन्ध बचाउन सकिनँ ।

‘मेरो गाडी पल्टियो एक महिनाका लागि १० हजार सहयोग गर न’ भनेपछि दिएँ । अरु पनि चिनेका मान्छेले सापटी दिएका थिए । तीन चार महिनासम्म त मैले नि वास्तै गरिनँ । तर अकस्मात बिरामी भएर अस्पतालमा भर्ना हुनुपर्याे । त्यो समयमा पैसा चाहियोभन्दा अनेकथरि बहाना आयो । तर पनि मैले विश्वास गरिरहेँ । व्यस्त भएर नै होला जस्तो लाग्थ्यो ।

पैसाभन्दा पनि सम्बन्ध ठूलो जस्तो लाग्यो । बहाना धेरै आउन थाले पनि माग्नै छोडेको थिएँ । त्यतिबेला नै बहिनीको साथी भनेर मेरो साथीसँग कुरा हुन थाले छ । मेरो साथीलाई बहिनीको साथी तिमी पनि बहिनी नै हो भनेर जागिर लागाइदिने कुरा भएछ । अलिअलि चिया खर्च त दिनु पर्छ, मैले हाकिमलाई दिनु पर्छ भनेर ८ हजार घुस मागेछन् । यदि जागिर भएन भने पैसा फिर्ता हुनेमा ढुक्क हुन भनेछन् ।

पछि काम पनि छैन पैसा पनि छैन । त्यो सुनेर धेरै रिस उठ्यो । फोन गरेर गाली गरेँ । तर केही लागेन । मुद्दा हाल्नेसम्म कुरा भयो । तर साथीले ‘भयो मान्छे चिनेँ, दानै भयो’ भनेपछि छोडियो ।

मेरो १० हजार नदिएको भन्दा पनि साथीको ८ हजारले मन पोल्यो । साँच्चै दादा पाएँ भनेको व्यक्तिले यस्तो काम गरेपछि मन झन् दुख्यो । त्यो मान्छे ठिक छैन भन्नेहरुसँग रिसले होला भनेर उल्टै झगडा गरेको थिएँ । तर वास्तविकता त अर्कै रहेछ । त्यसपछि उहाँको बहिनी भनेर कहिल्यै फोन अनि म्यासेज आएन । 

अहिले जस्लाई पायो त्यसलाई दादा भन्न पनि आउँदैन । कसैलाई भनिहाले पनि त्यो व्यवहार पाउँदिनँ । अनि लाग्छ भावनाको नाता कसरी ठूलो होला भनेर ? त्यसैले यो तिहारको रौनकले कहिल्यै छुँदैन मलाई ।

‘हामी पनि आफ्नै हो, टीका लगाइदे न’ भन्नेहरुलाई कुनै जवाफ फर्काउन सक्दिनँ । मलाई खिस्याए जस्तो लाग्छ । आँगनमा फुलेका सयपत्री र मखमलीले जिस्क्याएझैँ लाग्छ । फोन अनि म्यासेजमा आउने शुभकामनाले होच्याए जस्तो लाग्छ । अनि घरको ढोका र झ्यालमा राखिने मैनबत्तीले आफैलाई साथ दिएझैँ लाग्छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Krishna

    Sept. 26, 2021, 4:18 p.m.

    ब्लग राम्रो लाग्यो, तर पुरा पढन पाइएन ....

  •  0 Reply

तपाईको प्रतिक्रिया