बंगलादेशी क्रिकेट टिमका कप्तान शकिब अल हसनमाथि २ वर्षको प्रतिबन्ध, यस्तो छ गल्ती

 कात्तिक १२, २०७६ मंगलबार १९:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशी क्रिकेट टोलीका कप्तान तथा विश्वका नम्बर एक अलराउण्डर शकिब अल हसनविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।

भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको भन्दै आईसीसीले शकिबमाथि सबै फर्म्याटका क्रिकेट खेल्न नपाउने गरी दुई वर्षको प्रतिबन्ध लगाएको हो । शकिबलाई दुई वर्ष पहिले एक जना सट्टेबाजले सम्पर्क गरेको र त्यसको जानकारी आईसीसीलाई नदिएको आरोप लागेको छ ।

आईसीसीको आचारसंहिताअनुरुप यसलाई ठूलो गल्ती मानिन्छ । शकिबसँग दुई वर्ष पहिले एक जना सट्टेबाजले म्याच फिक्सिङका लागि सम्पर्क गरेका थिए । तर शकिबले त्यो प्रस्ताव अस्वीकार गरेका थिए ।

म्याच फिक्सिङमा शकिबको संलग्नता नभए पनि अनुचित प्रस्तावको जानकारी आईसीसीलाई नदिएकै कारण उनी प्रतिबन्धमा परेका हुन् ।

प्रतिबन्धपछि शकिबले भने, ‘जुन खेललाई म निकै माया गर्छु, त्यसकै लागि प्रतिबन्धमा पर्दा म निकै दुःखी छु । तर म्याच फिक्सिङका लागि सट्टेबाजले गरेको प्रस्तावका बारेमा आईसीसीलाई जानकारी नदिएकोमा म आफ्नो गल्ती ठान्दछु । र आफूमाथि लागेको प्रतिबन्ध स्वीकार गर्छु । आईसीसीको भ्रष्टाचार विरोधी इकाई(एसीयू) भ्रष्टाचारविरुद्ध अभियानमा खेलाडीले विशेष भूमिका निर्वाह गरुन् भन्ने चाहन्छ । मैले त्यसबेला आफ्नो कर्तव्य पालन गरिनँ ।’

कप्तान शकिबमाथि प्रतिबन्ध लागेसँगै भारत भ्रमणमा आउनुपूर्व बंगलादेशलाई ठूलो झट्का लागेको छ । बुधबार बंगलादेशको टिम भारत भ्रमणमा आउँदैछ । उनको अनुपस्थितिमा मुशफिकुर रहीम टेस्ट म्याच र महमुदुल्लाहले टी–२० अन्तर्राष्ट्रिय टिमको नेतृत्व गर्ने सम्भावना रहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया