पाकिस्तानको राटोडेरो शहरका ९ सय बालबालिकामा एचआईभी संक्रमण भेटियाे

 कात्तिक १२, २०७६ मंगलबार २०:३५:४४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको सिन्ध प्रान्तको लरकाना जिल्लाको राटोडेरो शहरमा ९ सय बालबालिका एचआईभी एड्सबाट संक्रमित भएको पाइएको छ ।

एक बाल रोग विशेषज्ञले पटक–पटक एउटै सिरिन्ज प्रयोग गरेका कारण एचआईभी एड्स संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसका साथै २ सय जना वयस्क व्यक्तिमा पनि एचआईभी संक्रमण भएको पाइएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार गएको अप्रिलमा यस क्षेत्रका बालबालिकामा एचआईभी संक्रमण भएको कुरा पत्ता लागेको थियो । अहिले शहरमा एचआईभी संक्रमितको संख्या एक हजारभन्दा बढी पुगिसकेको छ ।

न्यूयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार शहरमा एक हजार एक सयभन्दा बढी व्यक्तिमा एचआईभी पोजिटिभ भेटिएको हो । शहरका हरेक २ सय जनामा एक जना एचआईभी पोजिटिभ संक्रमित व्यक्ति भेटिन्छन् । एचआईभी संक्रमित भएका एक हजार एक सय प्रभावितमा ९ सय जनाको उमेर १२ वर्षभन्दा कम रहेको छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार यो संख्या अझै बढ्न सक्नेछ । किनकी शहरमा रहेको जनसंख्यामध्ये एउटा हिस्साको मात्रै स्वास्थ्य परीक्षण गरिएको छ ।

यस प्रकरणमा जिम्मेवार मानिएका डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि लापर्वाही तथा हत्याको मुद्दा चलाइएको छ । राटोडेरोमा झण्डै २ लाख मानिस रहेका छन् । यो संख्याको एक तिहाई व्यक्तिको अहिलेसम्म एचआईभी जाँच गरिएको छैन ।

यो घटनापछि पाकिस्तान सरकारले दर्ता नभएका कथित क्लिनिक, ब्लड बैंक र मेडिकल सेन्टरहरु बन्द गराएको छ ।

डाक्टरले एउटै सिरिन्ज पटक–पटक प्रयोग गरेको र यस क्षेत्रमा रहेका डेन्टिस्ट तथा नाईहरुले समुचित सफाइ र सुरक्षा नअपनाएकाले पनि भाइरस तीव्र गतिमा फैलिएको आशंका गरिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया