मिथिलाञ्चलमा छठ पर्व सुरु

 कात्तिक १३, २०७६ बुधबार ६:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मिथिलाञ्चलमा बुधबारदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ ।

सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाइ छठ पर्वको शुरुवात हुन्छ । आजको दिन माछा र कोदो खान नहुने धार्मिक मान्यता रहेको सस्कृतिविद्ले बताएका छन् ।

छठ पूजाको दोस्रो दिन भोलि खरना मनाइन्छ । जसअन्तर्गत व्रतालुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाइ अरबा अरबाइन अर्थात बिना नुनको खानेकुरा खाने गर्दछन् ।

त्यस्तै पर्वको तेस्रो दिन व्रतालुले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पक्वान्न बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।

त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट अर्थात् आउने आइतबार बिहान उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया