दोलखामा जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गयो

 कात्तिक १३, २०७६ बुधबार १३:५९:४१ | उषा तामाङ
unn.prixa.net

दाेलखा - भिमेश्वर नगरपालिका वडा नम्बर-२, सोक्लामा बुधबार बिहान जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । 

वडा नम्बर-२ कै डाँडागाउँबाट चरिकोट आउँदै गरेको जीप दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नम्बर-२ डाँडागाउ बस्ने भोजबहादुर वलीकी ९ वर्षीया छोरी रोशनी वलीको ज्यान गएको हो ।

घाइते राेशनीकाे प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा बुधबार ९ बजेर २० मिनेट जाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

बा १४ च ७६७ नम्बरको बोलेरो जीप आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका चालक भिमेश्वर नगरपालिका-२, डाँडागाउ बस्ने २५ वर्षीया मनु तामाङ, मृतक बालिकाकी बुवा ३५ वर्षीय भोजबहादुर वली र श्रीमती ३० वर्षीया दुर्गा वलीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।

जीपमा ९ जना रहेकामा बाँकीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटनास्थल चरिकोटबाट झण्डै १५ किलोमिटर पूर्वमा पर्छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया