छठ पर्वको मुख्य विधि सुरु: आज ‘नहाय खाय’

 कात्तिक १४, २०७६ बिहिबार १०:०:९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - मिथिलाञ्चलसहित तराई मधेशमा धुमधामसँग मनाइने पर्व छठको मुख्य विधि बिहीबारबाट सुरु भएको छ ।

पाँचदिनसम्म निष्ठापूर्वक मनाइने छठको दोस्रो दिन आज व्रतालुहरुले नुहाएर चोखो खाने गर्दछन् । आजको दिनलाई नहाय खाय पनि भनिन्छ ।

यस अघि पहिलो दिन बुधबार व्रतालुहरुले माछा र कोदो नखाएर माछ मरुवा बरेका थिए । माछ मरुवा बार्ने दिनलाई भने मुख्य विधि अन्तर्गत राखिएको छैन ।
त्यसैले नहाय खाय अर्थात आजदेखि छठ पर्वको मुख्य विधि सुरु भएको मानिन्छ । 

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दिन व्रतालुहरुले तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने पाचौँ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ ।

यस वर्ष छठ पर्वको मुख्य दिन शनिबार परेको छ । शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएपद्छि छठ पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा बाँसको ढकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छन् । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठाका हिसाबले कठोर पर्वको रुपमा मानिन्छ ।

तराई मधेशवासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा रहेका घाटलाई सिंगार्ने काम भइरहेको छ ।

विशेषगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक गंगासागर, धनुसागर, अंगराजसागर, दशरथ तलाउलगायतको पोखरीहरुलाई नयाँ दुलही झैँ सजाएर झकिझकाउ बनाउने कार्य जारी छ । अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेका छठपर्वका विभिन्न सुमधुर गीतले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया