दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा लगानी जुट्यो

 कात्तिक १४, २०७६ बिहिबार १४:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ । 

विदेशका विभिन्न बैंकले झण्डै ५१ अर्ब रुपैयाँ लगानी गर्ने आयोजनामा शुक्रबार हस्ताक्षर हुने आयोजनाको प्रबर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । 

हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको कम्पनीले जनाएको छ । आयोजनामा अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, कोरियन एक्जिम बैंक, यूके डेभलपमेन्ट बैंक लगायतले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । 

आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । वित्तीय सम्झौता भएको ५ वर्षपछि अर्थात २०८० सालको चैत महिनाभित्र आयोजना सम्पन्न हुने पनि नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । 

आयोजनाको लागत झण्डै ६५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया