कास्की उपचुनाव : नेकपाबाट विद्यासँगै सोमनाथ र राजकाजीको नाम पनि सिफारिस

 कात्तिक १४, २०७६ बिहिबार १५:१३:२९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि नेकपा गण्डकी प्रदेश कमिटीले ३ जनाको नाम सिफारिस गरेको छ ।

गएको शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले विद्या भट्टराईलाई मात्र एकल उम्मेदवार सिफारिस गरेको थियो । तर पछि केन्द्रले ३ जनाको नाम मागेपछि प्रदेश कमिटीले विद्या भट्टराईसँगै सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ को नाम पनि सिफारिस गरेको हो ।

केन्द्रबाट नै ३ जनाको नाम मागेपछि वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट गुरुङलाई सिफारिस गरिएको नेकपाका गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिनुभयो ।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुनुहुन्छ भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित हुनुभएको थियो । करण नेकपा कास्की इन्चार्ज समेत हुनुहुन्छ । प्यासी यसअघिको चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचीमा हुनुहुन्थ्यो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो ।

कास्की २ मा ७१ हजार आठ सय ७१ मतदाताले मतदान गर्न पाउने उपचुनावका लागि साझा पार्टीले पोखराकी रजनी केसीलाई उम्मेदवार घोषणा गरिसकेको छ । कांग्रेसले भने यसअघि नै १६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया