तस्बिरमा हेर्नुस् रसुवाकाे जरायाे नाच

 कात्तिक १४, २०७६ बिहिबार १७:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवाको सदरमुकाम धुन्चेमा युवाहरूको सक्रियतामा बिहीबार जरायो नाच देखाइएको छ । 

जीवजन्तुलाई मार्न नहुने सन्देश दिँदै जरायो नाच प्रस्तुत गरिएको हो । गएको दुई वर्षदेखि रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले जरायो नाच प्रस्तुत गर्दै आएको छ ।

यो नाच ‘चेन क्षेवा’ अन्तर्गत पर्छ । यसमा धेरै किसिमका नाच समावेश गरिएको हुन्छ । धुन्चेमा खम्बा र जरायो नाच देखाउने गरिएको समूहका सचिव कमल तामाङले बताउनुभयो ।

‘चार दशकसम्म नाच प्रस्तुत हुन नसकेपछि दुई वर्षअघिदेखि यसको सुरुवात गरेका हौँ’, उहाँले भन्नुभयो, ‘यसलाई हामीले निरन्तरता दिँदै जाने छौँ ।’ २०३५ सालसम्म यो नाच प्रचलनमा थियो । 

धुन्चेमा लामो समयसम्म नाच प्रस्तुत हुन नसकेको समयमा जिल्लाको अन्य क्षेत्रमा भने नाच प्रस्तुत हुँदै आएको थियो । यो नाच रसुवाको ठूलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा समेत देखाइँदै आएको छ । ठूलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य ठाउँमा फरक फरक महिनामा नाच देखाइने गरिएको छ । 

नाच देखाउनका लागि धुन्चेमा चार ओटा समूह बनाइएको छ । एउटा समूहमा २६ देखि २८ घरधुरी समावेश गरिएको छ । यो नाच वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाको बारेमा केन्द्रित छ ।  

यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ । सिकारीहरू सिकार खेल्न जाँदा लुकेर बसेको जरायो भाग्छ । भागेर गएको जरायो लामाको शरणमा पुग्छ ।सिकारीहरू लामा कहाँ पुगेर जरायो खोजिदिन आग्रह गर्छन् । वन्यजन्तुको सिकार गर्न नहुने सन्देश लामाले दिएपछि सिकारीले सबै हतियार लामालाई बुझाउँछन् । 

लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउनका लागि यो नाच देखाइन्छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया