काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

 कात्तिक १४, २०७६ बिहिबार १६:५१:३ | रासस
unn.prixa.net

काठमाण्डाै - काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भन्नुभयो ।

छानाका लागि काठको समस्या भएको र त्यसका लागि १२ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा व्यवस्था गरिदिन सरकारसँग माग गरिएको छ ।  निर्माणअन्तर्गत अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । 'अहिले मुख्य चार वटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ', समितिका अध्यक्ष शाक्यले भन्नुभयो । अब समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्र रुपमा काम हुने जनाइएको छ । निर्माणका लागि अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।

२०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गएकाे कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा काठमाण्डौ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

चार वर्षभित्र निर्माण कार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । काठमाण्डौको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ् नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया