वैदेशिक व्यापार सुधारोन्मुख : आयात घट्दै, निर्यात बढ्दै

 कात्तिक १५, २०७६ शुक्रबार १४:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा नेपालको निर्यात व्यापार वृद्धि गरेको छ ।

गएको वर्षको यही अवधिको तुलनामा यो वर्ष १४ प्रतिशतले निर्यात वृद्धि भएको छ । यो आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गएको वर्ष यही अवधिमा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

यस्तै आयातमा पनि कमी आएको भन्सार विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा सुधार हुन थालेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ३४ करोड ९४ लाख रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ । गएको वर्ष यही अवधिमा झण्डै ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

गएको आर्थिक वर्षको तुलनामा यस वर्ष झण्डै १०.३४ प्रतिशतले आयात घटेको विभागको तथ्यांकमा उल्लेख छ ।

आयात घटेर निर्यात बढेसँगै वैदेशिक व्यापार सुधारको बाटोमा रहेको देखिएको छ । नेपालले यस आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ३४ करोड ९४ लाख बराबरको सामान आयात गर्दा २७ अर्ब १६ करोड बराबरको सामान निर्यात गरेको छ । यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ७ अर्ब रहेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया