नेपाल र कुवेतबीचकाे खेल फ्लड लाइटमा हुने, अनलाइनबाट टिकट काट्ने व्यवस्था

 कात्तिक १५, २०७६ शुक्रबार १८:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वकप छनोट प्रतियोगिताका लागि अहिले दशरथ रंगशालाको फिनिसिङ भइरहेको छ । पहिलो होम म्याच सफल बनाउनका लागि कामदारसँगै सम्बन्धित पदाधिकारी पनि दिनरात खटिरहेका छन् ।

खेल मंसिर ३ गते ५ः४५ बजे फ्लड लाइटमा सञ्चालन हुनेछ । दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउने कार्य जोडतोडका साथ चलिरहेको छ ।

खेलप्रेमीले साढे ५ वर्षपछि पहिलो पटक होम म्याच हेर्नका लागि टिकट अनलाइनमार्फत बुकिङ गर्न सक्नेछन् । ‘टिकटको मूल्य र अनलाइन पार्टनरको घोषणा हामी दुई–तीन दिनभित्रमा गर्नेछौँ', अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।

अहिले मैदानमा दुबो गोडमेल गर्ने काम भइरहेको छ । त्यससँगै दर्शक बस्ने प्यारापिटमा सिट राख्ने काम पनि भइरहेको छ । अखिल नेपाल फुटबल संघले भीआईपी प्यारापिट तलको कोठामा सचिवालय समेत सारिसकेको छ । र पदाधिकारी निरन्तर निरीक्षणमा छन् । रंगशालामा फ्लड लाइट, स्कोरबोर्ड, सेन्थेटिक ट्र्याकका काम सकिएका छन् भने चेञ्जिङ र रुमका शौचालयको फिनिसिङ् मात्र बाँकी छ ।

दुई हप्ताभित्र यी कामहरु सकाउनु पर्नेछ । एन्फाले यो खेललाई नेपाली फुटबलको कोशेढुंगाका रुपमा लिएको छ । एन्फा अध्यक्ष शेर्पा भन्छन्,‘नेपाली दर्शकले स्तरीय रंगशालामा फुटबल हेर्न नपाएको धेरै भइसक्यो । यो म्याचका लागि सबै नेपाली फुटबलप्रेमीहरु उत्साहित छन् ।’ ‘मिडिया, सामाजिक सञ्जालहरुमा पनि  प्रतिक्रिया देख्दा यो खेलले नेपाली फुटबलको विकासमा नयाँ उचाइ थप्नेछ’, अध्यक्ष शेर्पाले थपे ।

‘स्टेडियम नभएको कारणले हामी धेरै प्रतियोगिता आयोजनाबाट बञ्चित भएका थियौँ । विश्वकप छनोटमा पनि सुरुमा होम म्याच खेल्न पाएको भए नतिजा अर्कै हुन सक्थ्यो ।’ ‘यो रंगशाला नहुँदा मरेको जस्तो नेपाली फुटबल धेरै राम्रो हुनेछ’, अध्यक्ष शेर्पाले भने । अरु सबै पक्षका कामहरु सम्पन्न हुने भए पनि कुवेतविरुद्धको होम म्याचसम्म भीआईपी प्यारापिट नसकिने भने पक्का छ ।

कुवेतसँगको म्याच हेर्ने भीआईपीहरुलाई साधारण प्यारापिट तर्फकै दक्षिणतर्फको भागमा बसाइने छ । खेलअघि फिफाका प्रतिनिधि मैदान निरीक्षणका लागि आउनेछन् । उनीहरुले मैदानको अवस्था र खेलाडीको सुरक्षाको ग्यारेन्टी पाएपछि अनुमति दिएपछि नेपाली समर्थकले साढे पाँच वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय म्याच हेर्न पाउनेछन् ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया