प्रधानमन्त्रीको स्वास्थ्य : लुकाउने र खोतल्ने कोभन्दा को कम !

 कात्तिक १६, २०७६ शनिबार ८:४३:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

वर्षौंदेखि बिरामी मान्छे सधैँ स्वस्थ भैरहँदैन । कहिले घरमै बस्छ, कहिले भेटघाटमा व्यस्त हुन्छ, कहिले अस्पताल जान्छ । बेलाबेला अस्पताल जानु–आउनु नयाँ र नौलो कुरा हुँदै होइन ।

तर रातमाटेटार, ढुंगेटार, अनि बालुवाटारमा बस्ने बिरामीको हकमा भने उस्तै र उही कुरा लागू हुँदैन । रातमाटेटार र ढुंगेटारमा बस्ने बिरामीभन्दा बालुवाटारमा बस्ने बिरामी फरक हुन् । बालुवाटारमा बस्ने मान्छेलाई सियोले च्वास्स घोच्दा पनि सबैका कान ठाडा हुन्छन् ।

कान ठाडो भैसकेपछि जे ठाउँमा जसरी च्वास्स भएको हो, त्यही कुरा झ्वास्सै दुनियाँलाई भनि हाल्नुपर्छ । नत्र कान कानमा कुराको बतास चल्न थाल्छ र कान कानमै बतासे कुराले आधिकारिकता पाउँछ । अनि कुराको हुण्डरीले बालुवाटार वरपरका मानिसलाई समेत हल्लाउन र उडाउन थाल्छ ।

कानबाट बतासे कुरा पसिसकेपछि मुखबाट अर्को मसलेदार कुरा निस्कन्छ । फेरि अर्को कानमा उसैगरी पस्छ । यसरी फैलिएको बतासे र मसलेदार कुरामा भएकोभन्दा नभएको कुरा चाहिँ धेरै हुन्छ । त्यसैले कानमा बतासे कुरा पस्नुअघि नै सही कुरा पुर्‍याउनु पत्रकारको धर्म हो । यस्तै धर्म निभाउन खोज्ने पत्रकारले यो साता पटक पटक बालुवाटारमा फोन लगाए ।

बालुवाटारमै बस्ने पत्रकारका पनि पत्रकार, पत्रकारकै गुरुले फोन उठाए ।

‘हजुर नमस्कार, प्रधानमन्त्री बिरामी हुनुभएको हो र ?’

‘कसले भन्यो ?’

‘त्यस्तै सुनेकोले के हो भनेर बुझ्न फोन गरेको ।’

‘आफै बुझ्नुस् न, पत्रकारको काम त आफैंले खोजी गर्नु हो नि । के हो आफैं पत्ता लगाउनुहोस् ।’

‘हैन हजुर बिरामी भएर अस्पताल जानुभएको हो कि होइन, त्यति मात्र जान्न पाए हुन्थ्यो ।’

‘तपाईंलाई किन जान्नुपर्‍याे ?’

‘मलाई हैन, जनताले थाहा पाउनुपर्‍याे नि ।’

‘जनतालाई यसै थाहा छ नि प्रधानमन्त्री पहिलेदेखि नै बिरामी हुनुहुन्छ । बेलाबेला अस्पताल गैरहनुपर्छ । तपाईंलाई भन्दा धेरै जनतालाई थाहा छ ।’

‘तै पनि हजुर समाचार त बनाउनुपर्यो नि ।’

‘यो समाचार नै होइन । तपाईंलाई मैले पढाएको होइन र नियमित भैरहने स्वभाविक कुरा समाचार होइन । अस्वभाविक र आकस्मिक कुरा पो समाचार हो त ।’

‘तर हजुर आफैंले आमनागरिकको सरोकार र चासोको विषय पनि समाचार हो भनेर पढाउनुभएको हो नि । अहिले प्रधानमन्त्रीलाई के भएको छ भन्ने कुरा आमनागरिकको चासो र सरोकारको कुरा भएको छ । त्यसैले यो विषय समाचार हो । प्रधानमन्त्रीलाई के भएको हो, कति दिन अस्पताल बस्नुपर्छ भन्ने कुरा मात्रै भन्नुभए हुन्थ्यो ।’

‘सामान्य हो, यसो डाक्टरलाई भेट्न जानुभएको हो, बेलुका फर्कनुहुन्छ । ल भयो ?’

पत्रकारले बाटो हेरे । त्यो दिन प्रधानमन्त्री अस्पतालबाट फर्कनुभएन । अर्को पत्रकारले अस्पतालको स्रोतबाट थाहा पाए – प्रधानमन्त्रीलाई उहाँको सल्लाहकारले सुनाएको कुराभन्दा बढी नै भएको रहेछ ।

त्यसपछि सबै पत्रकारलाई स्रोतले त्यही भन्यो । सल्लाहकारभन्दा स्रोत बलियो भयो । सूचना र जानकारी दिनुपर्ने चिनेजानेको स्रोतले बेलामा सही कुरा भनेन भने नचिनेको र नजानेको स्रोत चाहिँ बलियो हुन्छ । जुन स्रोतले सबैका कान कानमा बतासे कुरा पनि फैलाउँछ ।

अर्को दिन फेरि तिनै पत्रकारले बालुवाटारका आफ्ना गुरुलाई फोन लगाए ।

‘तपाईंले सामान्य भन्नुभएको थियो, उतै बस्नु पो भएछ त ?’

‘खै हामीलाई त बेलुका फर्कन्छु भनेर जानुभएको थियो । डाक्टरले आज यतै बस्नु भनेछन्, बस्नु भो । के ठूलो कुरा भयो त ? प्रधानमन्त्री एक दिन अस्पताल बस्दैमा सबै कुरा बितेको त छैन नि ? फेरि फर्किसक्नु भो ।’

‘तर प्रधानमन्त्रीको स्वास्थ्य त सामान्य होइन भन्छन् नि ?’

‘तपाईंले भनेर हुन्छ ? अरुले भनेर हुन्छ ? डाक्टरले सामान्य भनिसके । त्यसमाथि दुई तिहाई बहुमत भएका शक्तिशाली प्रधानमन्त्रीको स्वास्थ्य कसरी कमजोर र गम्भीर हुन सक्छ ? उहाँ स्वस्थ हुनुहुन्छ । फुर्तिलो हुनुहुन्छ । पहिले जस्तो हुनुहुन्थ्यो, त्यस्तै हुनुहुन्छ ।’

प्रधानमन्त्रीका सल्लाहकारले आफ्नो धर्म पूरा गरे । सोध्ने पत्रकारले पनि आफ्नो ड्युटी सिध्याए । त्यसपछि हल्लाखोरहरुको समूहमा हल्ला र बतासे चर्चा सुरु भयो । 
एउटाले भन्यो, ‘प्रधानमन्त्री अब काम गर्न सक्नुहुन्न ।’

अर्कोले थप्यो, ‘अब विश्राम लिएकै राम्रो हुन्छ ।’

यस्तै कुरा ५/७ वर्षअघि पनि हुन्थ्यो । बालुवाटारका मान्छेले यही कुरा सम्झे । विश्राम लिनुपर्छ भन्नेहरुको मुखमा बुझो लगाउन खोज्दै बालुवाटारकाले भने, ‘यसअघि पार्टी महाधिवेशनको बेलामा पनि यसै भनेको होइन ? स्वास्थ्यले साथ दिंदैन, त्यसैले आराम गरेको ठिक भनेर । तर उहाँ महाधिवेशनमा उठ्नु भो । अध्यक्ष बन्नुभयो । दुई-दुई पटक प्रधानमन्त्री बन्नुभयो । अहिले पनि सक्रिय हुनुहुन्छ । स्वस्थ मान्छे त कहिलेकाहीँ अस्पताल जानुपर्छ । उहाँ त यसै बिरामी, बेलाबेला जानुहुन्छ ।’

‘तै पनि धेरै धपेडी भयो । डाक्टरले पनि धेरै धपेडी नगर्नु भन्या छन् त’ विश्राम गरे हुन्थ्यो भनेर कामना गर्ने मान्छेले भने ।

‘डाक्टरले भनेर हुन्छ ? उहाँलाई विश्राम र आराम चाहिएको छैन’ सहयोगीले थपे ।

‘तै पनि अब त विश्राम गरेको राम्रो ।’

‘हुँदैन, हुन्न, बिरामी हुँदैमा यसअघि कसैले विश्राम लिएको छ ? राजनीतिमा थकाई र विश्राम भन्ने कुरै हुँदैन ।’............

बाहिर हल्लाखोरहरुको जमातमा अन्त्यहीन बहस चलिरहेको छ । भित्र बालुवाटारको पारिलो घाममा सूचनालाई चना चपाएझैं चपाउने प्रयास भैरहेको छ । सूचना लुकाउन खोज्ने हात्तीजस्ता । बाहिर कुरा खोतल्ने चाहिँ हात्तीछाप चप्पल जस्ता । 

अन्तिम अपडेट: चैत ११, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया