नेपाली सेनाकाे कार्गाे विमान काठमाण्डाै ओर्लियाे

 कात्तिक १६, २०७६ शनिबार १२:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५-२२० विमान  काठमाण्डौ आइपुगेको छ । 

कार्गाे विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाण्डौ आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

दुई वर्षअघि झण्डै साढे तीन अर्बमा नेपाली सेनाले खरिद सम्झौता गरेको थियो । यसका लागि नेपाली सेनाले सन् २०१७ को जुन महिनामा ३० मिलियन अमेरिकी डलरको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । 

इन्डोनेसियाको वेस्टजाभा बान्डुङको हुसेन सास्त्रानेगारा एअरबेसबाट उडेको विमान काठमाण्डौ आइपुगेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार इन्डाेनेसियाको पीटी डिरागान्तारा (सरकारी कम्पनी) ले निर्माण गरेको विमान बहुउपयोगी छ । 

अब नेपाली सेनासँग हवाई साधनको संख्या २७ पुगेको छ, जसमा १२ ओटा सञ्चालनमा छन् भने १५ ओटा ग्राउण्डेट छन् । 

‘यो विमान विपद्को समयमा विभिन्न सैन्य गतिविधिका लागि सञ्चालन गरिनेछ । यो विमानले विशेषगरी मान्छे बोक्ने, सामान बोक्ने र प्यारा टोलीलाई जम्प हान्न पनि उपयोगी हुन्छ’, प्रवक्ता पाण्डेले भन्नुभयो । यो विमानको परीक्षण उडानको प्रक्रिया भने बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो  ।   

साथै यो विमान हवाई यात्रादेखि कार्गाे सुविधा पनि सञ्चालन गर्न सकिन्छ । विमानलाई परिमार्जन गरेर पनि आवश्यकताअनुसार विभिन्न उपयोगमा ल्याउन सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया