नेपालविरुद्धको सिरिजका लागि एमसीसी टिम काठमाण्डौमा

 कात्तिक १६, २०७६ शनिबार १३:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न शनिबार दिउँसो काठमाण्डौ आइपुगेको छ । 

एमसीसीले काठमाण्डौ र पोखरामा गरी ६ वटा खेल खेल्ने छ । काठमाण्डौमा आइतबारदेखि नै प्रतियोगिता सुरु हुनेछ । 

नेपाल आएको एमसीसीको टिममा जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन् । 

यस्तै टिममा चार जना अफिसियल रहेका छन् । जसमा म्यानेजरमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स छन् ।

एमसीसीको नेपालमा तालिका यस्तो रहेको छ 

३ नोभेम्बर एमसीसीविरुद्ध नेपाल यू-१९ टिमबीच ५० ओभर
४ नोभेम्बर एमसीसीविरुद्ध नेपाल सिनियर (५० ओभर)
६ देखि ८ नोभेम्बर एमसीसीविरुद्ध नेपाल (तीन दिवसीय)
९ नोभेम्बर पहिलो टी-२० एमसीसीविरुद्ध सिनियर र यू-१९ को मिक्स टिम

पोखरामा हुने खेल

११ नोभेम्बर एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११
१२ नोभेम्बर एमसीसीविरुद्ध मुख्य मन्त्री ११

दुवै खेल २० ओभरको हुनेछ ।  

नेपाली राष्ट्रिय टिमविरुद्ध टी-२०, एकदिवसीय र तीन दिवसीय सिरिजका लागि आएको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू-१९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन् ।

टिममा रहेका विल रोड्सले सन् २०१४ मा इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेस्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेस्ट टिममा थिए ।

यस्तै टम वेस्लेले इंग्ल्याण्डका लागि ५ वटा टेस्ट खेलिसकेका छन् । जिम्मी एडम्स यसअघि पनि नेपालविरुद्ध खेलिसकेका छन् । नेपालले इंग्ल्याण्डमा अभ्यास खेल खेल्दा उनले ७१ रन बनाएका थिए । त्यस खेलमा नेपाल १९ रनले पराजित भएको थियो ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया