काठमाण्डौमा पहिलो पटक घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने, ब्याजदर बढे पनि किस्ताको रकम बढ्दैन

 कात्तिक १८, २०७६ सोमबार ८:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा पहिलो पटक घर किन्नेलाई नेपाल राष्ट्र बैंकले सहज नियम बनाइदिएको छ । 

राष्ट्र बैंकले २०७५ सालको एकीकृत निर्देशिका परिवर्तन गर्दै काठमाण्डौ उपत्यकामा पहिलो पटक घर किन्दा बैंकबाट ७० प्रतिशतसम्म ऋण पाउन सक्ने व्यवस्था गरेको हो । 

यसअघि ६० प्रतिशतसम्म ऋण पाइनेमा निर्देशिका संशोधन गर्दै केन्द्रीय बैंकले डेढ करोड रुपैयाँसम्मको घर किन्दा स्वीकृत धितोको ७० प्रतिशतसम्म ऋण पाइने व्यवस्था गरेको हो । 

तर यसको लागि राष्ट्र बैंकले केहि शर्त राखेको छ । नयाँ घर किन्दा बैंकबाट ७० प्रतिशतसम्म ऋण लिन बढीमा तीन हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुुनुपर्ने र त्यो ऋणी आफूले मात्र प्रयोग गर्नुपर्नेछ ।

यस्तै यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर तथा अपार्टमेन्ट निर्माण वा खरिद नगरेको हुनुपर्नेछ । र घरभाडालाई ऋणीको आम्दानीको स्रोतको रुपमा देखाउन नपाइने व्यवस्था गरेको छ ।

ब्याजदर बढ्दा किस्ताको रकम बढाउन नपाइने

राष्ट्र बैंकले ऋण लिएर घर किन्नेलाई थप सहज बनाइदिएको छ । निर्देशिका परिवर्तन गर्दै  राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाले पहिलो पटक घर किनेको व्यक्तिको ऋणको ब्याजदर बढाए पनि मासिक किस्ता रकम भने बढाउन नपाउने व्यवस्था गरेको छ । 

बैंकहरुले यसअघि ब्याजदर बढेपछि मासिक किस्ता रकम बढाउँदै आएका थिए । राष्ट्र बैंकले भनेको छ, ‘कर्जाको ब्याजदर वृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्नेछ ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया