भारतको नक्सामा नेपालको जमिन : अध्ययनका लागि नेपालले भारतको आधिकारिक नक्सा झिकायो

 कात्तिक २०, २०७६ बुधबार ८:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले आफ्नो नयाँ नक्सामा नेपालको जमिन पनि राखेको विषयमा सरकारले अध्ययन गरेर मात्रै धारणा सार्वजनिक गर्ने भएको छ ।

नेपाली जमिन अतिक्रमण भएको हो या होइन भनेर भारतको आधिकारीक नक्सा झिकाइएको र नक्सा आएपछि अध्ययन गरेर मात्रै भन्न सकिने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले भारतीय दूतावासमार्फत भारतको आधिकारिक नक्सा झिकाएको छ । 

यस्तै, नेपाल र भारतको आ–आफ्नै दाबी रहेकोले आवश्यक छलफल र अध्ययन गरेर मात्रै यो विषयमा केही बोल्न सकिने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताउनुभयो ।

सीमारेखाको विषयमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई अध्ययनको जिम्मा दिइएको र यसको कुटनीतिक समाधान खोज्नुपर्ने भएकोले अहिले नै यही हो भन्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि दुई देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रले आफ्नो काम गरिरहेको र नेपालले आफ्नो अडान नछाडेको जनाएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालले आफ्नो अडान नछाडेको र यसको कुटनीतिक समाधान खोज्नुपर्ने बताउनुभयो ।

गएको शनिबार भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले नयाँ राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि नेपालको यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया