वायुसेवा निगममा व्यापक सुधार भयो, अब थप चम्काउँछौँ : अध्यक्ष खरेल

 कात्तिक २०, २०७६ बुधबार १५:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायु सेवा निगमले सेवामा सुधार र खर्चमा कटौती भएको दावी गरेको छ ।

आफूले कार्यकाल सम्हालेको १ वर्ष पुगेको अवसरमा निगमका अध्यक्ष मदन खरेलले पत्रकार सम्मेलन गरेर निगममा पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको बताउनुभयो । निगमले अहिले प्रविधिको उच्चतम प्रयोग गरेर खर्च व्यापक बढाएको दावी गर्नुभयो ।

नेपाल एअरलाइन्स पछिल्लो वर्ष ५ वटा भीभीआइपी उडानको लागि प्रयोग भएको, जापानको नारितामा चार्टर्ड फ्लाइट भएको, पाइलटको संख्या थपेको, २ वटा सर्भिस बस ल्याएको, ४ वटा र्‍याम्प बस आउँदै गरेको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै जहाज उडिसकेपछि पनि २४  घन्टा नै निगरानीको लागि एमसीसी र ओसीसी प्रविधि अपनाएको उहाँले दावी गर्नुभयो । यस्तै जापान उडानलाई लक्षित गरेर विमानस्थलमा हेल्प डेस्क राखेको ,आन्तरिकतर्फ ट्रंक रुटमा अनलाइन टिकट सुरु भएको पनि अध्यक्ष खरेलले बताउनुभयो ।

उहाँले आफूले निक्कै इमान्दार भएर काम गरिरहेको र निगम अब थप बलियो हुने पनि दावी गर्नुभयो ।

अब चीनको ग्वान्जाउ, जापानको नारिता, साउदीको रियाद लगायतका गन्तव्यमा उडानको लागि पहल भैरहेको पनि खरेलले जानकारी दिनुभयो । यी ठाउँमा उडानको लागि लामो समयदेखि पहल भए पनि सफल नभएकोले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका राजदूतमार्फत पहल भैरहेको पनि उहाँले दावी गर्नुभयो।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया