नेपाली दर्शकको माया धेरै छ : बलिउड अभिनेता गोविन्दा

 कात्तिक २१, २०७६ बिहिबार ८:९:२२ | रासस
unn.prixa.net

काठमाण्डौ – बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् ।

वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाण्डौमा पत्रकारसँगको कुराकानीका क्रममा भने, ‘मलाई नेपाली दर्शकबाट माया र सम्मान मिल्दै आएको छ, यो माया नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।’

सोमबार पत्नी सुनितासँगै नेपाल आएका गोबिन्दाले बुधबार बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गरे । उनले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेको बताए । 

गएको वर्ष पनि उनी एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । 

चलचित्र निर्माता सङ्घको आयोजनामा बुधबारदेखि पर्साको वीरगञ्जमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् । महोत्सवमा झण्डै २५ हजारको सहभागिता हुने अनुमान गरिएको महोत्सवको आर्थिक समितिका संयोजक शुशान्तकुमार श्रेष्ठले जानकारी दिए । 

उनले नेपाली चलचित्र निर्माणको ५३ वर्ष पुगेको उपलक्ष्यमा वीरगञ्जमा महोत्सव आयोजना गरिएको जानकारी दिए । विसं २०२२ मा पहिलो नेपाली चलचित्र ‘आमा’ निर्माण भएको थियो ।

महोत्सव संयोजक तथा चलचित्र निर्माता सङ्घका उपाध्यक्ष विमल पौडेलले महोत्सवमा भारतीय चलचित्र अभिनेता गोविन्दासँगै नेपाली कलाकारको पनि प्रस्तुति रहने जानकारी दिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया