तीन दिवसीय क्रिकेट: पहिलाे पारीमा एमसीसीविरुद्ध नेपाल दुई सय एघार रनले पछाडि

 कात्तिक २१, २०७६ बिहिबार १९:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एमसीसीविरुद्धको तीन दिवसीय खेलको पहिलो इनिङ्समा नेपाल १ सय ५३ रनमा समेटिएको छ । 

कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाएपछि एमसीसीले पहिलो इनिङमा १ सय ११ रनको अग्रता बनायो । लामो समयपछि तीन दिवसीय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने १ सय ७३ रन पनि बनाउन सकेन ।

पछिल्लो समय एक दिवसीय र ट्वान्टी–२० खेलमा अभ्यस्त नेपाली टोलीले तीन दिवसीयमा भने राम्रो प्रदर्शन सकेन । ३ सय ६४ रन पछ्याएको नेपालले सुरुआतमा नै विकेट गुमाउन पुगेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुँदै पेभेलियन फर्किँदा नेपालको इनिङ संकटमा परेको थियो ।

पाँच रन हुँदा नेपाली टिमका कप्तान ज्ञानेन्द्र आउट भएपछि क्रिजमा आएका शरद भेषवाकर पनि चार रनमा पेभेलियन फर्किएपछि नेपालले सात रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि १६ रन हुँदा नेपालले तेस्रो विकेटको रुपमा राजु रिजाललाई गुमाउन पुग्यो । राजु ८ रनमा आउट भए । त्यसपछि आरिफ शेख र दिपेन्द्रसिंंह ऐरीले नेपालको पारीलाई बचाउने प्रयास गरे पनि उपकप्तानको ब्याटिङ चल्न सकेन ।

उनी १ रनमा आउट भए भने उनलाई साथ दिएका  आरिफ शेख १० रनमा आउट भए । यतिञ्जेलमा नेपालले ३४ रनमा पाँच विकेट गुमाइसकेकाे थियाे । छैटाैँ विकेटका लागि विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे ।

विनोद ३६ रनमा आउट हुँदा नेपालले १ सय ६ रनमा छैटौँ विकेट गुमायो । त्यसपछि पनि नेपालले करण केसी र पवन सर्राफलाई सस्तैमा गुमायो । सोमपाल कामी पनि रनमा २६ रनमा आउट भएपछि नेपालले १ सय ११ रनमा नौ विकेट गुमायो । अन्तिममा सन्दीपले अविजित ३९ रन बनाउँदै नेपालका लागि उच्च स्कोरर बने ।

यससँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ । नेपाल फलो अनमा समेत परेको छ तर एमसीसीले नेपाललाई फलो अन नदिने भएको छ ।

दोस्रो दिनको खेलमा नेपाल अल आउट भएपछि एमसीसीले दोस्रो इनिङ सुरु गरेको छ । दोस्रो दिनको दोस्रो इनिङ्समा एमसीसीले २ विकेटको क्षतिमा ९१ रन जोड्दै ३ सय २ रनले अगाडि छ । एमसीसीले तेस्रो दिन शुक्रबार फेरि ब्याटिङ गर्नेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया