औषधि पसलको आडमा लागुपदार्थको धन्धा गर्ने भक्तपुरकाे तेजश्वी फार्मेसीमा शिलबन्दी

 साउन १, २०७५ मंगलबार १८:३४:५८ | उज्यालो सहकर्मी

भक्तपुर – सूर्यविनायकको पाण्डुबजारमा रहेको औषधि पसलले लागुपदार्थ बिक्री गर्दै आएको छ भन्ने हल्ला केही दिनदेखि चलिरहेको थियो ।

दिनभरमा करिब ६०–७० जना किशोर र युवाहरुले पसलबाट औषधि लिएर जाने नशालु औषधि प्रयोग गर्ने गरेको गुनासो बढेपछि यो खबर सूर्यविनायक नगरपालकाको प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनासम्म पुग्यो । 

त्यसपछि नगरपालिकाको अनुगमन टोली, नगर प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली नगरपालिकाबाट सूर्यविनायकतर्फ दुईवटा गाडीमा गयो । पसल अगाडि पुगेर गाडी रोकेर टोली पसलमा पस्यो । पसलमा सञ्चालिका रिना श्रेष्ठ र अर्का एक जना युवा थिए । टोलीले नगरपालिकाबाट अनुगमनका लागि आएको भने लगत्तै रिनाले टोलीलाई अलमल्याउन थालिन् । 

पसलमा रहेका युवाले एउटा कालो झोला बिस्तारै समातेर शंकास्पद तरिकाले भित्र अर्को कोठामा लैजान लागेको देखेर प्रशासकीय अधिकृत चिरञ्जीवीले रोकेर झोला हेर्दा त्यही झोलामा रहेछ पाँच वटा विभिन्न नामका अवैध, नेपालका बिक्री गर्ने अनुमति नभएको औषधि । सँगै गएको जनस्वास्थ्यको टोलीका प्रतिनिधिले यो औषधि अवैध भनेपछि नगरपालिकाले औषधि व्यवस्था विभागको टोलीलाई बोलाएको थियो । टोली आएलगत्तै सबै औषधि अवैध भएको ठहर गरेपछि सुरु भयो शिलबन्दी प्रक्रिया । 

किशोर र युवाहरुलाई लागुऔषधको रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको हो । सूर्यविनायक नगरपालिकाले आज आकस्मिक रुपमा गरेको औषधि पसलको अनुमगनका क्रममा विभिन्न नामका अवैध औषधिसहित बरामद गरेपछि सूर्यविनायक नगरपालिका –६, पाण्डु्बजारमा रहेको तेजश्वी फार्मेसी शिलबन्दी गरेको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधि व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको बजार निरीक्षक, जनप्रतिनिधि र पत्रकारसहितको टोलीले आज गरेको औषधि पसलको अनुमगनका क्रममा झोलामा पोका–पोका बनाएर बिक्रीका लागि राखिएको औषधि बरामद गरेको थियो । 

यो फार्मेसीबाट अवैध औषधि बिक्री भैरहेको र कलिला किशोर एवं युवाहरुले नशाका रुपमा औषधि सेवन गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले आकस्मिक रुपमा पसलमा अनुगमन गरेको तिम्सिनाले जानकारी दिनुभयो । नगरपालिकाले विगत एक महिनादेखि बजार अनुगमन सुरु गरेको र अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिका साविक १४ बस्ने डी. फार्मेसी उतीर्ण गरि औषधि पसल सञ्चालन गर्दै आएकी रिना श्रेष्ठले सञ्चालन गरेको त्यो पसलबाट टोलीले ट्रेनडल  १०० एमजी, ५० एमजी, क्लोनाज,  क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधिहरु बरामद गरेको छ । 

सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले यो पसलबाट अबैध औषधि बिक्री भैरहेको र किशोर तथा युवाहरुले लागू औषधिको रुपमा प्रयोग गर्ने गरेको गुनासो आएको बताउनुभयो । पसलबाट औषधि लिन आउने युवाहरुलाई तयारी अवस्थामा राखिएको औषधि सुटुक्क दिने र औषधि लगेकाहरुले नजिकैको चिया पसलमा गएर पानीसँग औषधि सेवन गरेको पाइएपछि थप चर्चा चलेको थियो । 

छिट्टै धनी हुन र धेरै पैसा कमाउने लोभमा किशोर र युवाहरुको भविश्य र जीवनसँग खेलबाड गर्ने यस्ता पसल सञ्चालकले टोलकै बदनाम गराएको भन्दै तत्काल पक्राऊ गरेर कारबाही गर्न स्थानीयले माग गरेका थिए ।

औषधि व्यबस्था विभागका फार्मेसी निरीक्षक राम शर्मा पौडेलले पसल शिलबन्दी गरी बयानका लागि पसल सञ्चालकलाई २४ घण्टा भित्र विभागमा बयानका लागि बोलाएको बताउँदै त्यसपछि आवश्यक कारबाही सुरु गरिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया