जनकपुरमा सडक डिभिजन कार्यालयले भत्कायाे वडा कार्यालय

 कात्तिक २२, २०७६ शुक्रबार २०:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – जनकपुरधाम उपमहानगरपालिका-२१ को वडा कार्यालयमाथि डोजर चलाइएकाे छ । सडकमै रहेको वडा कार्यालय सडक डिभिजन कार्यालय जनकपुरले शुक्रबार प्रहरी प्रशासन तथा स्थानीयको सहयोगमा भत्काएको हो ।

सडकमा रहेको वडा कार्यालय भत्काउन स्थानीयवासीले पटक पटक आन्दोलन गर्दै आएका थिए । वडा कार्यालय पूर्णरुपले भत्काइएको स्थानीय सम्भु झाले जानकारी दिनुभयो । 

निर्माणाधीन जनकपुर लोहारपट्टी सडकखण्डमै पर्ने वडा कार्यालय बचाउन झण्डै डेढ वर्षअघि वडाध्यक्ष रामेश्वर महासेठको संलग्नतामा सडकको दक्षिणपट्टि रहेको राजर्षि जनक माध्यमिक विद्यालयको घर तथा पर्खाल भत्काइएको थियो । त्यसै बेलादेखि त्यहाँ विवाद चल्दै आएको थियो । विद्यालयको कक्षाकोठा र पर्खाल भत्काएपछि विद्यार्थीले सडकमै समेत पढेर विरोध गरेका थिए ।

जनप्रतिनिधिले भेदभावपूर्ण तरिकाले विद्यालय भत्काएको भन्दै स्थानीय बासिन्दालयले सडकमा रहेको वडा कार्यालयसमेत भत्काउन माग गर्दै विभिन्न चरणमा आन्दोलन गरेका थिए । त्यही क्रममा सडक डिभिजन कार्यालयले बाध्य भएर वडा कार्यालय भत्काएको जनाएको छ ।

वडा कार्यालय भत्काउने क्रममा वडाध्यक्ष पक्ष र स्थानीयवासीबीच केहीबेर तनाव पनि उत्पन्न भएको जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया