काठमाण्डौमा दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठक: साग ताेकिएकै समयमा हुने

 कात्तिक २३, २०७६ शनिबार १३:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भद्रगोल पूर्वाधारकाबीच दक्षिण एसियाली खेलकुद नेपालमा तोकिएकै समय अर्थात डिसेम्बर १ देखि १० तारिखसम्म हुने भएको छ । 

काठमाण्डौमा शनिबार सम्पन्न दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले प्रतियोगिता नेपालमै आयोजना हुने तय गरेको हो । बैठकमा सहभागी राष्ट्रका प्रतिनिधिहरुले पनि दक्षिण एसियाली खेलकुद आयोजना गर्न जोड दिएका थिए । 

बैठकमा उपस्थित काउन्सिलका सदस्यहरुले आज सातदोबाटोमा रहेकाे खेलकुद परिसरको निरीक्षण गरेर पोखराका पूर्वाधारहरु निरीक्षणका लागि त्यसतर्फ जाने बुझिएको छ ।

प्रतियोगिताको उद्घाटन र समापन गर्ने प्रमुख स्थल दशरथ रंगशालाको भीआईपीतर्फको प्यारापिट बन्न बाँकी छ भने पोखरा रंगशालाको काम अघि बढ्न सकेको छैन । 

यो संस्करणमा सहभागी देशहरुबाट उल्लेख्य सहभागिता भने नहुने भएको छ । नेपाललेमात्र सबै खेलमा सहभागिता जनाउने भएको छ । २७ खेलमध्ये बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउनेछन् । 

सागमा सबैभन्दा कम खेलमा सहभागिता जनाउने देशमा माल्दिभ्स रहेको छ । उसले ११ खेलमा मात्र भाग लिने भएको छ । यस्तै भारतले १७, पाकिस्तानले १८, भुटानले १४ खेलमा भाग लिने भएका छन् ।

आयोजक नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया