राष्ट्रपतिले अपमानजन शब्द प्रयोग गरेको भन्दै कांग्रेसको आपत्ति

 जेठ ९, २०७५ बुधबार १३:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ९ – सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश गरिएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, र राष्ट्रिय जनता पार्टीका सांसदहरुले  ६ वटा संशोधन प्रस्ताव पेश गरेका हुन ।

नेपाली कांग्रेसका १७ जना सांसदहरुको तर्फबाट नेता डाक्टर मिनेन्द्र रिजालले पेश गर्नु भएको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै त्यसमा संशोधन गर्न माग गरिएको छ ।

नेता रिजालले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संसदको सभामुख र राष्ट्रियसभाका अध्यक्ष जस्तो सम्मानित पदलाई अपमान हुने गरी राष्ट्रपतिले सम्बोधन गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले संसदको मर्यादामाथि नै आँच आउने गरी राष्ट्रपतिबाट भएको सम्बोधनलाई सामान्य त्रुटिको रुपमा नलिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

संघीय समाजवादी फोरम, नेपालका सांसदहरु प्रदीप यादव, रामसहायप्रसाद यादव, सुरेन्द्रकुमार यादव र रेणुका गुरुङ तथा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अनिल झाले संविधान संशोधन गर्नुपर्ने मुख्य बुँदा नीति तथा कार्यक्रममा थप गर्न माग गर्दै संशोधन प्रस्ताव पेश गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले शहीदहरुको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद अनिल झाले मुुलुकलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन पनि संविधान संशोधन गरेर अघि बढनुको विकल्प नरहेकाले भन्ने बुँदा सरकारको नीति तथा कार्यक्रममा थप गर्न संशोधन प्रस्ताव पेश गर्र्नु परेको स्पष्ट पार्नुभयो ।

सांसद यादवले ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउन पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा मधेशी जनताको माग अनुसार संविधान संशोधन गर्नेछु भन्ने प्रतिवद्धतासहितको बुँदा थप गर्नुपर्ने तर्क गर्नुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया