दैलेखमा न्यायिक समितिको छलफलमै कुटपिट

 कात्तिक २३, २०७६ शनिबार २०:५४:४ | अमर सुनार
unn.prixa.net

आउसे कामी

दैलेख – दैलेखकाे दुल्लु नगरपालिकामा परेको उजुरीका विषयमा छलफल भइरहेको बेला शुक्रबार कुटपिट भएको छ ।

गाउँघर वा छरछिमेकमा भएका विवादहरुको निरुपण गर्न नेपालको संविधानले नै स्थानीय सरकारले कानूनी अधिकार दिएको छ । यही अधिकारको प्रयोग गर्दै उजुरीका विषयमा छलफल भइरहेको बेला कुटपिट भएको हाे ।

गएको साउन २६ गते आउसे कामीकाे घर बनाउन ल्याइएकाे पानीकाे ट्याङ्की बाेकेकाे ट्र्याक्टर पानी खन्याइसकेर रोकिराखेकाे बेला खसेपछि औसे कामीसँग क्षतिपूर्ति मागेको विषयमा नगरपालिकाको न्यायिक समितिमा छलफल हुँदा दुल्लु नगरपालिका–८ बालेश्वरका ४५ वर्षीय कामीलाई कुटपिट गरिएको हो । 

विवादको विषयमा सामान्य छलफलपछि उपमेयर बिष्णु थापाले दुई पक्षबीच सहमति गर्न नगरपालिकाको प्रतीक्षालयमा पठाएको बेला गाडी मालिक २६ वर्षीय प्रकाश आचार्य र उनका दाजु ३२ वर्षीय राजु आचार्यले आफूलाई कुटपिट गरेको पीडित आउसे कामीले बताउनुभयो । 

छिमेकी बालिका ११ वर्षीया निर्मला भण्डारी र १० वर्षीय बालक शेरबहादुर खत्री ट्रयाक्टरमा चढेर खेल्न लाग्दा ट्रयाक्टर सडकबाट तल खसेको थियो । यसै विषयमा मर्मत सम्भार खर्च नपाएको भन्दै प्रकाश आचार्यले नगरपालिकामा उजुरी दिएका थिए । 

ट्रयाक्टर मर्मत गर्न एक लाख रुपैयाँ मागेपछि खाली गरिएको ट्रयाक्टर नलैजानु गाडीवालाको कमजोरी भन्दै औंसेले तिर्न इन्कार गर्नुभएको थियो । 

घटनालगत्तै इलाका प्रहरी कार्यालय दुल्लुमा गाडीवाला पक्षले दिएको उजुरीमा छलफल हुँदा तिर्न बाध्य पार्न नसकिने प्रतिक्रिया दिएपछि वडा कार्यालयमा भएको छलफलमा ५० हजार क्षतिपूर्ति दिइनुपर्ने भन्दै वडाध्यक्ष टिकाराम थापाले कागज गराएको औंसेको आरोप छ । 

वडा कार्यालयले कागज गराएको रकम नदिएको विषयमा दुल्लु नगरपालिकाको न्यायिक समितिमा परेको उजुरीबारे दुवै पक्षबीच छलफल चल्दै भएको विवादकै बीच सहमतिका लागि बाहिर पठाएको बेला आउसेमाथि आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

आउसेले पानी खाली गरिसकेको गाडी पल्टिनु आफ्नो दोष नभएको अडान राखेपछि आक्रमण भएको बताइएकाे छ । छलफल चलाउँदै गर्दा कुटपिट हुन थालेपछि छलफल छोडेर आफू बाहिर निस्किएकोले थप जानकारी नभएको उपमेयर थापाले बताउनुभयाे । 

न्यायिक समितिमा छलफलकै क्रममा भएको कुटपिटको क्रममा आउसे कामीको देब्रे तिघ्रा तथा ढाडमा लात्ती र टाउकोमा मुक्का हानिएकोले बाहिरी घाउ नदेखिए पनि भित्री दुखाइका कारण हिँड्नसमेत कठिन भएको कामीले गुनासाे पाेख्नुभयाे । 

दुई पक्षबीच सहमति गर्न इजलास बाहिर पठाइएको बेला बाहिर नै कुटपिट गर्दै ज्यान लिने धम्की दिएपछि त्यहाँ आएका अरु सेवाग्राहीले जोगाएका बताइएकाे छ । घटनालगत्तै आफू डराएर घर फर्किएको र जिल्ला प्रशासन कार्यालयमा ज्यान सुरक्षाको निवेदन दिएको पीडित कामीले बताउनुभयाे । 

कुटपिट घटनाका आरोपित आचार्यद्वयको प्रतिक्रिया लिन खाेज्दा सम्पर्क हुन सकेन । 

अन्तिम अपडेट: चैत २३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया