चक्रवात ‘बुलबुल’का कारण भारत र बंगलादेशका हजारौँ नागरिक प्रभावित, नेपालमा असर नपर्ने

 कात्तिक २४, २०७६ आइतबार १०:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शक्तिशाली सामुद्रिक चक्रवात ‘बुलबुल’का कारण भारत र बंगालादेशका हजारौँ नागरिक प्रभावित भएका छन् ।

बीबीसीले जनाएअनुसार बंगालको खाडी आसपासमा बुलबुलको असर देखिएपछि प्रभावित क्षेत्रका पाँच लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको छ । आँधीका कारण दुई जनाको ज्यानसमेत गइसकेको छ । चक्रवातले शनिबार राति भारत र बंगलादेशको केही क्षेत्रमा भारी वर्षासमेत भएको थियो ।

आँधीका कारण पश्चिम बंगाल क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलसमेत बन्द गराइएको छ । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सरिरहेकोले र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।

बङ्लादेशको मौसम विभागका अनुसार १२० देखि १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण समुद्रमा उच्च छाल आउने जोखिम हुन्छ ।

आपतकालीन सहयोगका लागि सैन्य जहाज र विमानहरु तयारी अवस्थामा रहेको पनि भारतीय सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपालमा चक्रवात ‘बुलबुल’को असर

बंगलादेशमा देखिएको चक्रवात बुलबुलको असर नेपालमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात बंगलादेशको उत्तरपूर्वी भूभागबाट बाहिरिने भएकाले यसको असर नेपालमा पर्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

चक्रवातको असर नेपालमा नपर्ने भए पनि नेपालको आकाश अलि धुम्म देखिएको छ । स्थानीय प्रदूषणका कारण आकाश धुम्मिएको मौसमविदहरुको भनाइ छ ।

अहिले देशका पूर्व र मध्य भू–भागमा आंशिक बदली भइरहेको छ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिनभर पनि मौसम यस्तै किसिमको रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

यस्तै, सोमबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । मंगलबार पनि पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक रहने र बाँकी भूभागमा सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया