पाँचथरका आठओटै पालिकामा आज सार्वजनिक बिदा

 कात्तिक २५, २०७६ सोमबार ७:५७:४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । किराँत समुदायका समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सोमबार पाँचथर जिल्लाको आठओटै पालिकामा सार्वजनिक बिदा दिइएको छ ।

एक नगरपालिका र सात वटा गाउँपालिका रहेको पाँचथरको नगर कार्यसमिति र गाउँ कार्यपालिकाको बैठकले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहालले जानकारी दिनुभयो ।

सोमबार जिल्लाको फिदिम नगरपालिकासहित याङवरक गाउँपालिका, हिलिहाङ गाउँपालिका, फालेलुङ गाउँपालिका, कुम्मायक गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

फाल्गुनन्दलाई किराँत समुदायमा महान समाज सुधारकको रुपमा चिनिने गरिन्छ । सोमबार पाँचथर जिल्लाको लब्रेकुटी र कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा विशेष कार्यक्रमको आयोजनासमेत गरिएको छ ।

सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक २५ गते साविकको इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म भएको थियो ।

जगनबाज र हंसमती लिङ्देनका छोरा फाल्गुनन्दको न्वारानको नाम नरध्वज थियो । हातमा फलामको चुरा लगाएका कारण फलामसिंह नामले चिनिएका नरध्वज कालान्तरमा फाल्गुनन्द नामबाट प्रसिद्ध भए । किराँत धर्म, संस्कृति सुधारको काममा अहोरात्र खटिाएका फाल्गुनन्दको विसं २००५ सालमा पाँचथरमा देहवसान भएको थियो ।

अन्तिम अपडेट: चैत २२, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया