सीमास्तम्भसम्म जानै पाउँदैनन् नेपाली

 कात्तिक २५, २०७६ सोमबार १९:५१:३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – दक्षिण र पश्चिमी क्षेत्रमा भारतसँग सीमा जोडिएको कञ्चनपुरमा तीन सय ८० सीमा स्तम्भ रहेका छन् । जसमध्ये ३६ वटा हराएका छन् भने २ सय १७ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । सीमा स्तम्भ हराएका ब्रह्मदेव, दोेधारा चाँदनी, बेलौरी र पुनर्वासका अधिकांश क्षेत्र भारतले आफ्नो भूभाग दाबी गरी वर्षौँदेखि अतिक्रमण गर्दै आएको छ ।

सरकारले नेपाल–भारत सीमा विवाद टुङ्गो लगाउन २०७३ चैतमा दुवै देशको संयुक्त सर्भे टोली कञ्चनपुर पठाएको थियो । निर्मला आचार्य र सुदर्शनसिंह धामी नेतृत्वमा खटिएको संयुक्त सर्भे टोलीले सीमा क्षेत्रको नक्सांकन गरे पनि विवादित क्षेत्रमा सीमा स्तम्भ निर्माण गर्न नसक्दा वर्षौँदेखिको विवाद अन्त्य हुन सकेको छैन ।

सीमा स्तम्भमा जान रोक

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित सीमा क्षेत्र भारतीय सुरक्षाकर्मी (एसएसबी) ले आफ्नो कब्जामा लिएको छ । वर्षौँ विवादित रहेको यो क्षेत्र एसएसबीले झण्डै चार वर्षदेखि आफ्नो कब्जामा लिएका हुन् ।

उनीहरुले १ सय ९४ देखि १ सय ९७ नम्बर सीमास्तम्भसम्म आफ्नो भूमि दाबी गर्दै नेपालीलाई रोक लगाएको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले बताउनुभयो ।

‘विगत चार पाँच वर्षदेखि एसएसबीले यो क्षेत्र आफ्नो भूभाग दाबी गर्दै आएको छ’, उहाँले भन्नुभयो, ‘त्यतिमात्रै होइन उनीहरुले नेपालीलाई १ सय ९५ नम्बरको सीमानामा जानसमेत दिँदैनन् ।’

वडाध्यक्ष जैशीका अनुसार १ सय ९५ नम्बर सीमास्तम्भ ढलेको अवस्थामा छ भने १ सय ९६ हराएकाले भारतीयले यो क्षेत्र आफ्नो भूमिमा पार्न खोजेका हुन् । दुवै देशको साझा सीमा स्तम्भमा जान एसएसबीले नेपाली नागरिकलाई मात्रै होइन जनप्रतिनिधि र सुरक्षाकर्मीलाई समेत रोक लगाएको छ ।

यो क्षेत्रमा जान आफूहरुले समेत एसएसबीसँग अनुमति लिनुपर्ने खड्डा कङ्कड प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार पहिले एसएसबी आफैले अनुमति दिने गरे पनि पछिल्लो समय भने जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय उच्च अधिकारीको अनुमति लिएर आउन उनीहरुले आग्रह गर्न थालेका छन् ।

झन् बल्झिँदै विवाद

पुनर्वासको सीमा पारी भारतीय दुुधुवा नेशनल पार्क पर्दछ । अन्नबाली भित्र्याउने बेला भएसँगै नेपाल प्रवेश गर्ने जंगली हात्तीले यो क्षेत्रमा निकै आतंक मच्चाउने गर्दछन् । हात्तीको आतंक नियन्त्रण गर्न गएको वर्ष जेठ १३ गते स्थानीय सरकारले १ सय ९० देखि १ सय ९५ नम्बर सीमा स्तम्भसम्म तारबार लगाउन ६ लाख रुपैयाँ विनियोजन गर्‍यो । १ सय ९० देखि १ सय ९४ सम्म निर्विवाद तारबार गरेको नपरपालिकाले १ सय ९४ देखि १ सय ९५ को बीचमा तारबार लगाउन सुरु गर्दा एसएसबीले रोक लगाएको थियो ।

त्यसयता भारतीय पक्षले यो क्षेत्रमा खेती गर्न मात्रै होइन अवलोकनकै लागि जाँदासमेत नेपालीहरुलाई रोक लगाउने गरेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारको टोलीलाईसमेत एसएसबीले नेपाली भूमिमै आएर फोटो तथा भिडियो खिच्न रोक लगाएको छ ।

पत्रकार वा अन्य व्यक्तिले सीमा क्षेत्रको फोटो तथा भिडियो खिचेको देखे एसएसबीले सीमावर्ती भारतीय बजार गएका नेपालीहरुको आवागमनमा अवरोध गर्दै दुःख दिने गरेको वडा अध्यक्ष जैशी बताउनुहुन्छ ।
 
सीमा स्तम्भ पुग्न भारतीय भूमिको प्रयोग

कञ्चनपुरको डोकेबजारस्थित १ सय ७१ देखि १ सय ९४ नम्बर सीमास्तम्भसम्म कुनै विवाद छैन । तर, १ सय ९४ देखि १ सय ९७ नम्बरसम्मको सीमा क्षेत्र भने वर्षौँदेखि विवादमा छ । स्थानीयका अनुसार १ सय ९५ नम्बर सीमा स्तम्भ ढलेको अवस्थामा र १ सय ९६ नम्बर सीमास्तम्भ हराएकोले यो क्षेत्र भारतीयहरु आफ्नो भएको दाबी गर्दै आएका छन् । 

त्यस्तै, १ सय ९५ नम्बर सीमा स्तम्भ प्यारा तालको पारिपट्टि छ । जसले गर्दा नेपाली भूमिबाट सिधै सीमा स्तम्भमा जान सकिँदैन । त्यहाँ पुग्न कि प्यारा ताल तरेर पारी जानुपर्ने हुन्छ, कि १ सय ९४ नम्बर सीमा स्तम्भ नजिक भारतीय भूमीमा रहेको काठे पुलको प्रयोग गरेर जानुपर्दछ । तर, पुलकै पारिपट्टि नजिकै एसएसबीको क्याम्प भएकाले वारि कोही जानासाथ सोधपुछका लागि एसएसबीहरु नेपाली भूमिमा नै आउने गर्दछन् ।

प्यारा ताल  भारतको भएको दाबी

नेपालले भोगचलन गर्दै आएको प्यारा ताल केही वर्षयता भारतले आफ्नो रहेको दाबी गर्न थालेको छ । २०२४ सालदेखि बसोबास गर्दै आउनुभएका स्थानीय कुलबहादुर सुनार भने प्यारा तालको पारीिमेत नेपाली भूभाग भएको दाबी गर्नुहुन्छ ।

उहाँका अनुसार प्यारा तालबाट झण्डै ५/६ सय मिटर पर १ सय ९५ नम्बर सीमा स्तम्भ छ ।

‘पिल्लर भन्दा ५/६ सय मिटर परसम्म नेपालको भूमि छ’, उहाँले भन्नुभयो ‘अहिले भारतीयले प्यारा ताल वारिको खेत पनि आफ्नो भूभाग भनेर दाबी गर्दैछन् ।’ नेपाली पक्षले बेवास्ता गर्दा भारतले तालसमेत आफ्नो पार्न खोजेको उहाँले बताउनुभयो ।

वर सर्दै सीमा

पुनर्वास नगरपालिका–४ आनन्द बजार नजिक रहेको सुकेको डुम्रीको रुखलाई २०० नम्बर सीमास्तम्भ दाबी गर्दै आएको भारतले अहिले आनन्द बजार छेउकै सिमलको रुखलाई सीमास्तम्भ दाबी गरिरहेका छन् ।

सीमा सर्भेका बेला अग्लो ठाँउबाट नक्सांकन गर्न सजिलो हुने भन्दै छनोट गरिएको ठाउँमा रहेको सिमलको रुखलाई भारतले सीमास्तम्भ दाबी गरेको हो । स्थानीयका अनुसार डुम्रीको रुखभन्दा करिब तीन सय मिटर परसम्म नेपाल भूमि पर्छ भने सिमलको रुखभन्दा एक सय मिटर पर नेपालीले वर्षौँदेखि भोगचलन गर्दै आएको जमिन छ । 

यता, संयुक्त सर्भेबाट सीमा विवाद टुङ्यो लाग्ने आशामा रहेका आनन्द बजारबासी भने सर्भे टोलीको कमजोरीका कारण भारतले पुरानो स्थानभन्दा झन् वर (नेपालतर्फ) सीमास्तम्भ दाबी गरेपछि चिन्तित बनेका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया