जनप्रतिनिधि आएको वर्ष दिनमा गाउँमा सडक : गाउँले दंग

 साउन २, २०७५ बुधबार ५:४९:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराही उपमहानगरपालिका वडा नम्बर १ करमकोटकी फुर्सी पुनले गाउँमा मोटरबाटो आउला भन्ने सोच्नु भएको थिएन । तर गाउँमा मोटरबाटो पुग्यो । भौगोलिक दृष्टिकोणले निकै विकट क्षेत्र पर्ने करमकोटमा मोटरबाटो निर्माण भएसँगै पहिलो पटक गाडी पुग्दा उहाँ निकै हर्षित हुनुहुन्छ । 

यही गाउँमै जन्मेर हुर्केर यहीँ बिहे गर्नुभएकी फुर्सीले आफ्नो जीवन पिठ्युँको भरमा चलाउनुभयो । भुगोलले बजारदेखि निकै टाढा रहेको करमकोटमा अहिलेसम्म पिठ्युँकै भरमा अन्नपात बोक्ने र विरामी हुँदा समेत डोकोमा बोकेर रामपुर हुँदै घोराही ल्याउनु पर्ने बाध्यता थियो । 

तर जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षमै विकट वस्तीले सडक पाउँदा उहाँजस्तै यहाँका बासिन्दा निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका १ को करमकोटसँगै वस्तीकोट, ठाँटीकोट, ठाँटीखोला, हेकराममा गाडी पुगेको वडा अध्यक्ष राममणि पाण्डेले बताउनुभयो । 

घोराही उपमहानगरपालिकाको २० लाख र वडा नम्बर १ को ५ लाखको लागतमा ५ वटा वस्तीलाई जोड्ने सडक बन्दा करिब २ सय घरधुरीलाई सहज भएको छ । यसैगरी घोराही उपमहानगरपालिकाको विकट वडा १९ नम्बरमा पनि गाडी पु¥याउने काम भैरहेको छ । अहिलेसम्म सहज ढंगले वडा र उपमहानगरको केन्द्रलाई जोड्न सहज सडक नहुँदा नागरिकले सास्ती भोग्दै आएका छन् । 

घोराही उपमहानगरपालिकाले निर्वाचित वर्षलाई सडक वर्षका रुपमा लिएको छ । सडक पूर्वाधारबिना अन्य विकास असम्भव रहेको भन्दै नगर प्रमुख नरुलाल चौधरीले आफूहरु निर्वाचित वर्ष सँगै ल्याएको नीति कार्यक्रममा सडक पूर्वाधारलाई प्राथमिकता दिएको बताउनुभयो । 

‘यो वर्ष बजार क्षेत्रमा १८ किलोमिटर कालोपत्रे गरेका छांै’ उहाँले भन्नुभयो, 'हामी दावीका साथ भन्छौं कुन सरकारले गरेको छ यसरी सडकमा सुधार ? चाहे नयाँ सडकहरुमा कालोपत्रे होला चाहे उप्किएका सडकलाई मर्मत गर्ने होला, तर सडकलाई बलियो बनाउने ध्यानमा छौं ।'

त्यसैगरी एक वर्षमा साढे ९२ किलो मिटर सडकलाई स्तरउन्नति गर्दै ग्राभेल गर्न सफल भएको उहाँको भनाई छ । यसैगरी नयाँ सडक निर्माणमा घोराही उपमहानगरपालिकाले साढे ३३ किलोमिटर सडक निर्माण गरेको नगर प्रमुख चौधरीले बताउनुभयो ।

'११ किलोमिटर सडक मर्मत गरिएको छ । सडकलाई नै बलियो बनाउन सके मात्रै अन्य विकासका आधारहरु तय हुन्छन्, त्यसैले सडक सुधारमा लागेका हौं' नगर प्रमुख चौधरीले भन्नुभयो । 

घोराहीदेखि सैघामा सडक पु¥याउन घोराही मसिना, लाखुरी छेडा हुँदै जाने सडकको ट्रयाक खोल्ने काम भएको उपमहानगरले जनाएको छ । अर्कोतर्फ दामोदर मार्गको कुइरेपानीदेखि सर्रासम्म १६ मिटर चौडाई भएको सडक तयार भएको र प्रदेश सरकारले कालोपत्रेका लागि १० करोड रकम बिनियोजन गरेको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया