ढुक्क हुनुहाेस्, भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुन्छ : परराष्ट्र मन्त्री

 कात्तिक २५, २०७६ सोमबार १७:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले देशको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैँ तत्पर रहेको पनि स्पष्ट पार्नुभयो ।

सोमबार संघीय संसदको अन्तर्रा‍ष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न  सरकार लागिपरेको पनि बताउनुभयो ।

मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानीलगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले ती भूमि गुमाउनु पर्छ कि भनेर चिन्ता लिइरहन नपर्ने पनि पटकपटक दोहोर्‍याउनुभयो ।

बैठकमा बोल्दै नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । समितिका सदस्य समेत रहनु भएका उहाँले दुई देशबीचको सीमा समस्या समाधानको कामलाई अघि बढाउँदा सरकारले डुबान समस्या समाधानमा पनि ख्याल गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई सचेत गराएका थिए ।

साेमबार नै राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई कालापानी लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएकाे छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया