कर्णाली प्रदेशमा पहिलो पटक चौरजहारी नगरपालिकाले सुरु गर्‍यो नगर बस सेवा

 कात्तिक २६, २०७६ मंगलबार ९:१६:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । 

नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले कर्णाली प्रदेशमा नै पहिलो पटक नगर बस सेवा सुरु गरेको जनाएको छ । 

नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन ओटा नगरबस सञ्चालन गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन नगरबस सञ्चालनमा ल्याएको छ । बसका लागि विभिन्न रुटको भाडादर निर्धारण गरिएको र टिकटसमेत अनिवार्य गरिएको नगरप्रमुख शर्माको भनाइ छ । 

नगरपालिकाले नगरबसमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई भने छुटको व्यवस्था गरेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरबस सञ्चालन भएसँंगै अबदेखि चौरजहारी बजार उपत्यकाका कुनै पनि स्थानमा यात्रा गर्न प्रतिव्यक्ति २० रुपैयाँ लाग्ने भएको छ । 

चौरजहारी बसपार्कदेखि वडा नं १४ को नुवाकोटसम्मको भाडादर २०० रुपैयाँ तथा बसपार्कदेखि चौफाका लागि १०० रुपैयाँ भाडा निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया