रातभरि मन्त्री रंगशालामा, नेपालकाे खेल भने भुटानमा

 कात्तिक २७, २०७६ बुधबार ८:२९:३९ | अशाेक काेइराला
unn.prixa.net

काठमाण्डाै – विश्वकप छनाेटअन्तर्ग नेपाल र कुवेतबीचकाे खेल दशरथ रंगशालामा हुन्छ भन्ने आशले दर्शक अनलाइनमा टिकट बुकिङकाे प्रतीक्षामा थिए । 

पाँच वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुने भनेर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नै भनेपछि दर्शक उत्साहित भएका थिए । २०७२ सालको भूकम्पपछि लथालिङ्ग भएको रंगशाला पुनर्निर्माण सम्पन्न गरेर मंसिर तीन गते नेपाल र कुबेतबीचको फुटबल खेलाउने तयारी भइरहेको थियो । तर यो अवधिमा रंगशाला पुनर्निर्माणको काम सम्पन्न नभएपछि यो खेल भुटानमा खेलाइने निश्चित भएको छ ।

केही दिन अगाडिसम्म  सदस्य सचिव रमेश सिलवाल नेपालले दशरथ रंगशालामा नै खेल खेल्छ टिकट काट्न तयार हुनुहाेस् भनेर गर्वका साथ भन्दै हुनुहुन्थ्याे । कुनै पनि एस्क्युजबिना नै हामी कुवेतसँगको खेल रंगशालामा गर्छाैँ यसमा ढुक्क हुनुहोस् भन्ने सदस्यसचिव नेपालको खेल भुटानमा सरेपछि भने जवाफ दिन तयार हुनुहुन्न । रंगशालाकाे अवस्था बुझ्न आएकाे एसियाली फुटबल महासंघका पदाधिकारीले मापदण्ड नपुगेकाे भन्दै अन्तै सार्न भनेपछि एन्फाले भुटान प्रस्ताव गरेकाे थियाे ।


 
नेपाल र कुबेतबीचको खेल भुटानमा हुने भए पनि एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) रंगशाला पुनर्निर्माण सम्पन्न नभएकै कारण तीन पटक म्याद थपेर मंसिर १५ मा गर्ने तयारी छ । तर सागको मिति नजिकिँदै जाँदा रंगशाला निर्माणको तयारी भने अपुरो नै छ ।

अहिले दशरथ रंगशालाको भीभीआईपी प्यारापिट निर्माणको काम भइरहेको छ । तर पनि भीभीआईपी प्यारापिटमा हाल्ने भनिएको फेब्रिकको छानो भने अहिलेसम्म चीनमा नै छ ।

मंसिर पहिलो सातासम्म रंगशाला निर्माण हुन्छ : मन्त्री विश्वकर्मा

सागको चुनौतीकै रुपमा रहेको निर्माणाधीन दशरथ रंगशाला मंसिर पहिलो सातासम्ममा तयार हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दाबी गर्नुभएको छ ।

भूकम्प श्चात् लामो समयसम्म पुनर्निर्माण हुन नसकेको दशरथ रंगशाला पुनर्निर्माणमा पछिल्लो समय युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा आफैले चासो दिएपछि पुनर्निर्माणले तीव्र गति लिएको हो । उहाँ अहिले रंगशालामा नै गएर दैनिक पुनर्निर्माणको काम नियालिरहनु भएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) को खेल हुने मुख्य खेलस्थल दशरथ रंगशालाको भौतिक निर्माणको काम नै सम्पन्न नभएपछि पछिल्लो समय मन्त्री विश्वकर्मा आफै रंगशाला निर्माणको निगरानीमा लाग्नु भएको हो ।

आइतबार दिउँसो दशरथ रंगशालाको प्यारापिटमा भेटिनुभएका मन्त्री विश्वकर्माले भन्नुभयो, ‘यसअघि पनि रंगशालाको निर्माणले गति नलिएको भने होइन तर पनि सागको मिति नजिक आइरहेको बेलामा अझै पनि निर्माण सम्पन्न नहुने देखिएपछि कामको गति बढाउन आफै निगरानीमा आएको हुँँ ।’

अहिले रंगशालामा चउर सजाउने रङ लगाउनेदेखि भीभीआईपी प्यारापिटतर्फ ट्रस्ट हाल्ने काम भइरहेको छ । मन्त्री विश्वकर्माले भन्नुभयो, ‘बुधबारसम्ममा चाइनाबाट फेब्रिकको छानो ल्याइने छ । अर्को सातासम्ममा फेब्रिकको छाना हाल्ने प्राविधिकको टोली पनि आइपुग्ने छ । मंसिरको पहिलो सातासम्ममा प्यारापिट निर्माणको काम सम्पन्न हुनेछ ।’

रंगशाला निर्माणमा ढिलाइ हुनुको कारण झन्झटिलो प्रक्रिया भएको पनि मन्त्री विश्वकर्मा बताउनुहुन्छ । निर्माण सामग्री विदेशबाट ल्याउनु पर्ने, नियम कानुन र यसका प्रक्रियाले समय लाग्ने, ठेकेदारको काम गर्ने शैली पनि अलग किसिमको हुने भएकाले केही ढिलाइ भएकाे मन्त्री विश्वकर्माले बताउनुभयाे ।

आफूले प्रत्यक्ष निगरानी गरेपछि पूर्वाधार निर्माण र प्रशासनिक काममा सबैले देख्नेगरी परिणाम आउन थालेको मन्त्री विश्वकर्माको भनाइ छ । अहिले रंगशाला निर्माणमा ठेकेदार कम्पनीमाथि दबाब बढेको छ । पुनर्निर्माणको समयमा भइरहेको ढिलासुस्ती र यसबीचमा आएका प्रशासनिक समस्या आफैले सुल्झाएका कारण र व्यवस्थापनतर्फ सबै समितिले आफ्नो काम गरिरहेकाले पनि रंगशाला निर्माणले पछिल्लो समयमा तीव्रता पाएको मन्त्री विश्वकर्माको विश्लेषण रहेको छ ।

पछिल्लो साता बिहानैदेखि राति १०–११ बजेसम्म रंगशालामै रहेर भइरहेका तयारीमा प्रत्यक्ष अनुगमन गर्नु मन्त्रीको दिनचर्या नै बनेको छ ।

साग आउँदै छ भन्दै हतारहतार काम गर्दा गुणस्तरीय काम भएकाे छ भन्ने प्रश्नमा मन्त्री विश्वकर्माकाे उत्तर छ, ‘हामीले छिटो गर्ने भनेर गुणस्तरहीन काम गरेका छैनौँ । तीव्र गतिमा काम गर्दा त्रुटि होला कि भनेर हामी गम्भीरतापूर्वक नै काम गरिरहेका छौँ ।’

रंगशालाको भीभीआईपी प्यारापिट निर्माणका लागि चिनियाँ र नेपाली कम्पनीले संयुक्त रुपमा काम गरिरहेका छन् । सीएमई–एचटीसी जेभीले ठेक्का पाएको कामअनुसार भीभीआईपी प्यरापिटतर्फ छानो निर्माणको काम भइरहेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

अशाेक काेइराला

अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

1 Comments

  • Armugam

    Nov. 13, 2019, 8:28 p.m.

    What a shame ......... what a shame!

  •  0 Reply

तपाईको प्रतिक्रिया