बंगलादेशका राष्ट्रपति हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दै

 कात्तिक २७, २०७६ बुधबार १०:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग मङ्गलबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्विर : रासस

काठमाण्डौ – नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुहुने भएको छ ।

बिहान १० बजेर ५० मिनेटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने बंगलादेशका राष्ट्रपति हमिदले ११ बजेर १० मिनेटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उहाँले २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दै हुनुहुन्छ । त्यसलगत्तै दिउँसो २ बजेर ४० मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली र दिउँसो सवा तीन बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेट गर्नुहुनेछ । दिउँसो साढे ४ देखि ५ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच आपसी हितका विषयमा छलफल हुनेछ ।

बुधबार नै राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्नुभएको छ । नेपालको ४ दिने औपचारिक राजकीय भ्रमणमा नेपाल आइपुग्नुभएका राष्ट्रपति हमिदले मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै, भेटमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

नेपाल भ्रमणको क्रममा राष्ट्रपति हमिदले काठमाण्डौका विभिन्न ऐतिहासिक तथा पुरातात्विक, सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएका राष्ट्रपति हमिद बिहीबार पोखरा जानुहुनेछ । उहाँ शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया