विद्युतीय–स्टिकर प्रणाली सुरु : कामदारलाई झण्झट कम, सरकारको लाखौँ रुपैयाँ जोगिने

 कात्तिक २७, २०७६ बुधबार १८:२८:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाँदा पासपोर्टमा श्रम स्टिकर टाँस्नुपर्ने झण्झटको अन्त्य भएको छ ।

मंगलबारदेखि विद्युतीय स्टिकर अर्थात ई–स्टिकर प्रणाली लागू भएपछि यस्तो झण्झटको अन्त्य भएको हो । मंगलबार वैदेशिक रोजगार कार्यालय ताहाचलमा नयाँ श्रम स्वीकृतिका लागि आवेदन गरेका ११२ जनाले ई–स्टीकर प्राप्त गरेका छन् ।

यस्तै बुधबारदेखि पुनः श्रम स्वीकृति लिनेलाई पनि ई–स्टिकर दिन सुरु गरिसकेको विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताउनुभयो । यसले गर्दा कामदारलाई श्रम स्टिकरको लागि ताहाचल पुगिराख्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

बुधबारदेखि धनगढी र सुर्खेतबाट पनि इ स्टिकर दिन थालिएको छ । ई–स्टिकर प्रणालीले पुनः श्रम स्वीकृति लिन सजिलो हुन्छ । अब कामदारले सम्बन्धित कार्यालयमा पासपोर्ट नम्बर बुझाएर श्रम स्टिकर इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।

त्यसलाई प्रिन्ट गरेर अध्यागमन र विमानस्थलमा देखाउन सकिनेछ । त्यसको लागि आफ्नो इमेल र पासवर्ड याद गर्नुपर्ने हुन्छ । श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरुले आफ्नो सही मोबाइल नम्बर भर्न र इमेल ठेगाना तथा पासवर्ड याद गर्न विभागको सुझाव छ ।

ई–स्टीकर लागू गरेपछि वार्षिक २० लाखको हाराहारी रकम स्टिकर छपाइ गर्नमा खर्च हुने गरेकोमा अब त्यो रकम बचत हुने महानिर्देशक भुषालको भनाइ छ । यस्तै ई–स्टिकर प्रणालीले दलालको ठगी धन्दालाई पनि रोक्ने विभागको दाबी छ ।

दलालहरुले नक्कली स्टिकर बनाइ भारतको बाटो भएर सोझासाझा व्यक्तिलाई विदेश पुर्याउने हुँदा अब त्यसो गर्न नसक्ने विभागले जनाएको छ । यस्तै पासपोर्ट फोहोर हुने, १० वर्षअघि जनरल लेबरमा विदेश गएर अहिले म्यानेजर भएकाहरुले पनि पुरानो स्टिकर देखाउनुपर्ने जस्ता अवस्थाको अन्त्य हुनेछ ।

अब कामदारले आवश्यकताअनुसार जतिबेला चाहियो त्यतिबेला आफ्नो इमेलबाट स्टिकर प्रिन्ट निकाल्न सक्नेछन् । श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि इमेलमा श्रम स्वीकृतिको स्टिकर आउने छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Babita thapa magar

    Nov. 13, 2019, 6:49 p.m.

    I want to check

  •  0 Reply

तपाईको प्रतिक्रिया