भ्रमण वर्षको सन्देश एकै पटक ७२ देशमा

 कात्तिक २८, २०७६ बिहिबार ८:१३:५५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७२ देशका संरक्षणकर्मी जुटेका छन् । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार लागिरहेको छ ।

यो भेला प्रकृति संरक्षण र पर्यटनका लागि सुनौलो अवसरसमेत बनेको छ । भ्रमण वर्ष सन् २०२०को नजिकमा ७२ देशका संरक्षणकर्मी एकै स्थानमा जुट्नु र उनीहरुमार्फत विश्वभर प्रचार प्रसार गर्ने वातावरण बन्नु देशका लागि ठूलो अवसर हो ।

नेपाल सरकार र अन्तर्राष्टिय रेन्जर फेडेरेसन (आईआरएफ)को आयोजनामा मंगलबारदेखि सौराहामा नवौँ विश्व रेञ्जर सम्मेलन सुरु भएको हो । पाँच दिनसम्म चल्ने सम्मेलनमा वन, वन्यजन्तु र प्राकृतिक स्रोतहरुको संरक्षणका लागि अघिल्लो पंक्तिमा कार्यरत विश्वभरका संरक्षणकर्मीहरुको सहभागिता रहेको छ । 

यस सम्मेलनमा मन्त्रालयका उच्च अधिकारीकासाथ विभागका अधिकारीकोसमेत सहभागिता रहेको छ । नेपालले वन, वन्यजन्तु र प्राकृतिक संरक्षण र अनुसन्धानका उपलब्धि विश्वभर फैलाउन यो सम्मेलनले मद्दत पुगेको वन मन्त्रालयका सहसचिव एवम् यस कार्यक्रमका संयोजक डा. महेश्वर ढकालले बताउनुभयो । 

नेपालमा एकसिंगे गैंडा, पाटे बाघ, हात्तीको संरक्षण व्यवस्थापनमा हासिल गरेको उपलब्धिबारे अन्य देशका संरक्षणकर्मीलाई जानकारी गराउन पाउने अवसर जुरेको पनि ढकालले बताउनुभयो ।

भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताउनुभयो ।

सुनसान भएको सौराहा एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताउनुभयो ।

यस्तै, भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आउँदो वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढाउन पनि यो सम्मेलनले सहयोग पुर्‍याउने विश्वास हामीले लिएका छौँ ।’

वन र वन्यजन्तु क्षेत्रका विज्ञको सहभागिता भएको हुनाले उनीहरूमार्फत यहाँको महत्वका बारेमा राम्रो गरी सन्देश जाने देखिएको छ । यहाँ आएका संरक्षणकर्मीले दुर्लभ एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चरा अवलोकन गर्ने अवसर पाएका छन् । जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चरा उनीहरूका लागि अध्ययन र अवलोकन गर्न निकै महत्वपूर्ण सावित हुने छन् । 

निकुञ्जसँगै सौराहामा रहेको थारु संस्कृति विश्वका जोसुकैका लागि नौलो र महत्वपूर्ण हुने गर्दछ । मङ्गलबारखेखि सुरु भएको संरक्षणकर्मीहरुको यो सम्मेलन पाँच दिनसम्म चल्नेछ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रेञ्जर फेडरेशनले यो कार्यक्रमको आयोजना गरेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया