प्रहरी निरीक्षकले काठ चोरेको स्थानीयको आरोप

 साउन २, २०७५ बुधबार ९:६:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी – वीपीनगरमा रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई काठ चोरीको आरोप लागेको छ । 

प्रहरी प्रमुख नै काठ चोरीमा संलग्न भएको भन्दै स्थानियबासीले वीपीपनगरमा रहेको प्रहरी कार्यालय घेराउ गरेका छन् । प्रहरी निरीक्षक बोहराको संलग्नतामा चोरी भएको भन्दै सिसौको काठसहितको ट्रायाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । प्रहरी निरीक्षक बोहराले ५३.९ क्यू फिट सिसौको काठ तस्करी गरेर ट्रयाक्टरमा लोड गरेको सूचना पाएपछि स्थानीय यूवाहरुले काठ नियन्त्रणमा लिएको बडिकेदार गाउँपालिका–१, वीपीनगरका स्थानीय युवा लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठ चोरी गर्नमा प्रयोग गरिएको से १ प ५१८९ नम्बरको ट्रयाक्टर समेत स्थानीयले नियन्त्रणमा लिएका छन् । प्रहरी निरीक्षक बोहराले काठ लोड गर्नका लागि आफू मातहतका प्रहरी कर्मचारी प्रयोग गरेको बताइएको छ । काठमाडौंमा घर बनाउँदै गरेका प्रहरी निरीक्षक बोहराले सिसौका गोलिया घनगढीका मिलहरुमा लगेर चिरान गरी काठमाडौं लैजाने योजना अनुसार चोरी गरेको स्थानीयको आरोप छ । स्थानीयले नियन्त्रणमा लिएको काठ र ट्रयाक्टरलाई इलाका वन कार्यालय वीपीनगरले नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न प्रहरी निरीक्षक बोहरालाई कारबाहीको माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय वीपीनगरमा धर्ना समेत दिएका छन् ।

त्यसैगरी इलाका वन कार्यालय वीपीनगरले प्रहरी निरीक्षक बोहराविरुद्ध काठ चोरीको मुद्दा दर्ता समेत गराएको छ । सेक्टर वन कार्यालय बुडर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले प्रहरी निरीक्षक बोहराले काठ चोरेको भन्दै निवेदन दर्ता गराएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठ चोरेको भन्ने स्थानीयको उजुरी आएको छ, छानबिनका लागि टोली खटाउँदै छौँ, सत्यतत्थ्य केहो टोलीको रिपोर्ट पछि थाहा हुन्छ ।’ 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले घटनाको बारेमा अनुसन्धान भैरहेको बताउनुभयो । ‘काठ चोरेको हो भन्ने स्थानीयको आरोप छ, छानबिनका लागि प्रहरी निरीक्षक ध्रुवबहादुर बिष्टको संयोजकत्वमा टोली खटााएका छौँ’, उहाँले भन्नुभयो, ‘आरोपित भनिएका प्रहरी निरीक्षक बोहरालाई अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय दिपायल झिकाएका छौँ, गलत गरेको प्रमाणित भए विभागय कारबाही हुन्छ ।’

काठचोरीमा संलग्न भनिएका प्रहरी निरीक्षक नृपबहादुर बोहरासँग यस विषयमा थप बुझन खोज्दा सम्पर्क हुन सकेन । 

अन्तिम अपडेट: चैत ३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया