अर्जेन्टिना र ब्राजिलबीचको मैत्रीपूर्ण खेल आज, कसले मार्ला बाजी ?

 कात्तिक २९, २०७६ शुक्रबार ८:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

विश्व फुटबलका दुई महान टोली अर्जेन्टिना र ब्राजिल मैत्रीपूर्ण खेलमा शुक्रबार आमने सामने हुँदैछन् । तीन महिनाको प्रतिबन्धपछि लियोनल मेस्सी खेलमा फर्किँदैछन् ।

अर्जेन्टिना र ब्राजिलको खेललाई विश्व फुटबलमा सर्वाधिक प्रतीक्षा गरिएको खेलका रुपमा लिइन्छ । फुटबल खेलाडी उत्पादनमा अग्रणी दुई देशबीचको खेल सर्वाधिक रुचाइएको खेलमध्ये एक हो ।

ब्राजिल र अर्जेन्टिनाबीच २०१९ को कोपा अमेरिकापछि पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । कोपा अमेरिकामा ब्राजिलले अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो । ब्राजिलसँग हारेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आयोजकलाई भ्रष्टाचारको आरोप लगाएका थिए । त्यसपछि मेस्सीले तीन महिने प्रतिबन्धसमेत झेल्नु परेको थियो ।

ब्राजिलसँगको खेलपछि प्रतिबन्धमा परेका मेस्सी तीन महिनापछि त्यही टिमविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय म्याचमा उत्रिँदैछन् । शुक्रबार हुने खेल न्यूट्रल भेन्यू अर्थात् साउदी अरबको राजधानीमा हुनेछ । यो खेल नेपाली समयअनुसार राति पाैने ११ बजे सुरु हुनेछ । कोपा अमेरिका जितेपश्चात् ब्राजिलियन टिम निकै कमजोर देखिएको छ । पछिल्लो चार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले एउटामा पनि जित निकाल्न सकेको छैन ।

नाइजेरिया, कोलम्बिया र सेनेगलसँग बराबरीमा चित्त बुझाएको ब्राजिल पेरुसँग भने पराजित हुन पुगेको थियो । अर्जेन्टिनाले भने कोपा अमेरिका पश्चात खेलेको चार खेलमा एउटा पनि पराजय भोगेको छैन । मेस्सीबिना मैदानमा उत्रिएको अर्जेन्टिनाले जर्मनी र चिलिसँग बराबरीमा रोकियो भने इक्वेडर र मेक्सिकोविरुद्ध भारी अन्तरको जित निकाल्न सफल भयो ।

ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिस्पर्धामा ब्राजिलले अहिलेसम्म ४६ खेल जितेको छ भने अर्जेन्टिनाले ३९ खेल जितेको रेकर्ड रहेको छ । पछिल्लो ५ भेटमा ब्राजिलले ३ खेल जितेको छ भने अर्जेन्टिनाले २ खेल जित्न सकेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया