‘जहाँ शान्ति र प्रेम मर्छन्, कसले गर्छ वास्ता संगीतको ?’

 कात्तिक २९, २०७६ शुक्रबार १३:३५:४६ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

‘ये हम्हारी सकाफत(संस्कृति) नही है । संगीत ने यहाँके माहोल खराब करेगा ।’  पाकिस्तानी शास्त्रीय संगीतबारे वृत्तचित्र छायांकन गर्दै गर्दा पेशावर विश्वविद्यालयमा फिल्म युनिटमाथि आक्रमण हुन्छ । संगीतले पाकिस्तानी वातावरण बिगार्छ भन्दै आक्रमण गर्ने समूहलाई फिल्म युनिटले सम्झाउने प्रयास गर्छ ।

पाकिस्तानका एक मात्र ‘सरिन्दा वादक’ लाई बजाउने अनुमति दिएनौँ भने यसलाई कसरी बचाउन सकिन्छ ? फिल्म युनिटले आक्रमणकारी समूहलाई प्रश्न गर्दा उनीहरु संगीत आफ्नो संस्कृति नभएको जवाफ दिएर उम्किन खोज्छन् ।

पेशावर विश्वविद्यालयको प्रागंणमा पाकिस्तानका एक मात्र सरिन्दा वादक एजाज सरहदी र उनका छोराको प्रस्तुतिबाट वृत्तचित्र ‘इन्दस ब्लूज’ सुरु हुन्छ । यो वृत्तचित्र बिहीबारदेखि पाटनमा सुरु भएको फिल्म साउथ एसिया–२०१९ को उद्घाटन समारोहमा देखाइएको थियो । वृत्तचित्र निर्माण र वृत्तचित्रका विषयबस्तुबारे परिचय दिँदै निर्देशक जवाद शरीफले संगीत ‘बोर्डरलेस’ हुने बताए । संगीत धनी, गरिब सबैको कला हाे भन्न रुचाउँछन् शरीफ ।

‘इन्दस ब्लूज’ को सुरुकै दृश्यमा पाकिस्तानमा गीत संगीतको वर्तमान अवस्थाबारे बोरीन्दो वादक फकीर जुल्फिकर भन्छन्, ‘जहाँ शान्ति र प्रेम मर्छन्, कसले गर्छ संगीतको वास्ता ?’

पाकिस्तान सुफी परम्परा र शास्त्रीय संगीतका लागि प्रख्यात थियो । विश्वभरबाट पाकिस्तानी गीत संगीत सुन्न मानिसहरु आउने गर्थे । तर अहिले पाकिस्तानमा शास्त्रीय संगीत लगभग मरिसक्यो भन्दा पनि हुन्छ । धर्ममा बढ्दै गएको कट्टरपन्थ र राजनीतिक खिचातानीले पाकिस्तानमा मौलिक संस्कृति र परम्परा हराइरहेका छन् ।

त्यस्तै गीत संगीतको संरक्षण र सम्वर्द्धन गरिनुपर्छ भनेर लागेका पनि समस्यामा परेका छन् । पाकिस्तानका शास्त्रीय संगीतकार र वाद्ययन्त्र बनाउने शिल्पकारका संघर्ष ‘इन्दस ब्लूज’ मा देखाइएको छ ।

निर्देशक शरीफले पाकिस्तानी शास्त्रीय संगीतको स्वाद त पस्किएका छन् नै । सँगसँगै हामीलाई पाकिस्तानको कुना कुनामा पुर्याएका छन् । दक्षिणमा मोहेन्जेदारोदेखि उत्तरमा हुन्जा उपत्यकासम्म । बीचबीचमा पाकिस्तानी परम्परागत संगीतको तालमा झुम्न पुग्छन् दर्शक । सँगसँगै संगीतकार र वाद्ययन्त्र बनाउने कालिगढका दुःख पीडा पनि साट्न पुग्छन् । संगीतको संरक्षणमा न राज्यको समर्थन छ, न त समुदायको  ।

वृत्तचित्रमा पाकिस्तानका ९ वटा शास्त्रीय बाजा प्रस्तुत गरिएको छ । मुरली बीन, सरोज, सारङ्गी, सरिन्दा, बलोची बेन्जो, चारदा, रान्टी, अल्घोजा, बोरीन्दोलगायतका शास्त्रीय बाजा, ती बाजा बजाउने संगीतकार र बाजा बनाउने शिल्पीका दुःख पीडा वृत्तचित्रमा समेटिएको छ ।

जोहेब हसन, एजाज सरहदी, फकीर जुल्फिकर, सतार जोगी, सचु खानलगायतका संगीतकार पाकिस्तानी शास्त्रीय संगीत बचाउनका लागि संघर्षरत छन् । शरीफले सिनेमाटोग्राफीबाटै विषयवस्तुमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले संगीतकार र वाद्ययन्त्रमा भन्दा उनीहरुको मुहारमा क्यामरा फोकस गरेका छन् । ती मुहारमा निराशा, दुःख पीडा र अनिश्चितताको भाव छल्किएको सजिलै देखिन्छ । 

पछिल्लो समय पाकिस्तानमा शास्त्रीय संगीतलाई बचाउन केही समूह प्रयासरत छन् ।

‘जनरल जियाले मौलिक संस्कृति मासे’

पाकिस्तानमा शास्त्रीय संगीतलाई राजनीतिले नराम्रोसँग प्रभावित पारेको छ ।

अझ पाकिस्तानका छैटौँ राष्ट्रपति जनरल जियाउल हकले त पाकिस्तानी परम्परागत संस्कृति, साहित्य र गीत संगीतमाथि धावा बोलेका थिए । उनको पालामा पाकिस्तानलाई चरम इस्लामीकरण गरिएको थियो । सन १९७५ को संविधानमा जनरल जियाले इस्लामिक अध्ययनलाई विद्यालयमा अनिवार्य गरे ।

त्यस्तै १९७४ मा उनले अहमदीहरुलाई गैरमुस्लिम करार गरे । ७७ मा मुस्लिमहरुलाई रक्सी बेच्न नपाउने संघीय कानुन ल्याए । जिया युगमै इस्लामाबादको लाल मस्जिदको ‘र्‍याडिकलाइजेसन’ भयो । मस्जिदका मौलवीहरु कट्टरपन्थतर्फ बढे । यस्तोमा सबै जात, धर्म र समुदायलाई समेट्दै आएको सुफी परम्परा, तथा संगीतको वास्ता कसले गर्ने ?

जनरल जियाकै समयका कविता लेखेकै भरमा पटक पटक जेल हालिएका पाकिस्तानी जनकवि हबिब जालिब लेख्छन्, विरसे (विरासत) मे हमे गम है मिला, इस गम को क्या नयाँ लिखना ।’ कवि जालिबले आफूहरुले विरासतमै दुःख पाएको भन्दै जनरल जियाको पालाको दुःखको कुरा के चर्चा गर्नु भन्दै व्यंग्य गरेका छन् ।

पछिल्लो समय पाकिस्तानमा कथ्थक नृत्यलाई पुनर्जागरण गर्ने क्रममा रहेकी निघत चौधरी पनि जनरल जियाले पाकिस्तानको मौलिक संस्कृतिलाई मासेको आरोप लगाउँछिन् ।

पहिले र अहिलेको पाकिस्तानी गीत संगीतका बारेमा जान्न मन छ भने शरीफको वृत्तचित्र ‘इन्दस ब्लूज’सँगै शरमीन आबैद चिनोयको ‘सङ अफ् लाहोर’ हेर्दा हुन्छ  । वृत्तचित्रमा लाहोरका भ्वाइलिन वादक सलीम खान भन्छन्, ‘एउटा यस्तो जमाना थियो, लाहोरका संगीतकारलाई सुन्न विश्वभरबाट मानिस आउने गर्थे । अहिले यहाँ भ्वाइलिन मर्मत गर्न मान्छे खोज्दा एक जना भेटिँदैन ।’

लाहोरमा रहेको उनको घरमा बुवाको पालको भ्वाइलिको अवस्थाले बताउँछ धेरै कुरा । भ्वाइलिनका स्ट्रिङहरु चुँडिसकेका छन् । काठ मक्किसकेका छन् । तर मर्मत गर्ने मान्छे कोही छैन ।

त्यसो त पाकिस्तानमा अहिले सांरगी, सारन्दी, मुरलीबीनलगायतका शास्त्रीय बाजाहरु बजाउने र बनाउने मान्छे पनि औँलामै गन्न सकिने मात्रामा रहेका छन् । ‘इन्दस ब्लूज’ मा सारङ्गी वादक जोहेब हसन आफू कुनै बेला पश्चिमा बाजा ड्रम सिक्न गएको बताउँछन् । बुवाको अनुरोध र पाकिस्तानी शास्त्रीय संगीतलाई बचाउनुपर्छ भन्ने लागेर आफू सारङ्गीमा अडिएको बताउँछन् । उनी गीत संगीतमा रमाउने मान्छेमा आपराधिक सोच कम आउने बताउँछन् । त्यसका लागि उनी आफ्नै परिवारको रमाइलो प्रसंग सुनाउँछन् ।

सारंगी वादक जोहेब हसन आफ्नो खानदानमा १०० वर्षमा एक जना मात्रै पक्राउ परेको भन्छन् । जोहेब भन्छन्, ‘संगीतले समुदायमा हुने गरेको अपराधलाई घटाउँछ । हाम्रो पूरै खानदानमा १०० वर्षमा एक जना आफन्त मात्र पक्राउ परे । त्यो पनि रमजानको बेलामा लुकेर खाएको आरोपमा ।’

तर पछिल्लो समय शान्ति र प्रेमको सन्देश दिने गीत संगीतलाई पछिल्लो समय पाकिस्तानमा मात्रै होइन, विश्वका धेरै देशमा अश्लील मान्ने गरिएको छ । पाकिस्तानमा जनरल जियाको समयदेखि लाग्न थालेको गीत संगीतमाथिको अंकुश उदारवादी छवि भएका मानिने इमरान खानको पालामा पनि निरन्तरता पाएको छ ।

सारङ्गी बनाउने शिल्पकार उस्ताद जियाउद्दीन सबै पैसाको पछि लागेकाले मौलिक भन्ने कुरा केही पनि नबचेको बताउँछन् । उनी सबैभन्दा बढी दोष दिन्छन् धर्म र राजनीतिलाई । उनी अहिलेका मौलवीहरु पैसाको पछाडि दौडेको बताउँछन्, ‘अब सब मौलवी पजेरोमे चल्ते हेँ । खुदा आपने देखा है ? ईश्वर आपने देखा है ? सिर्फ विश्वासकी बातेँ है न ? पूरा मुल्क खराब हुवा है मजहब और सियासतके चक्करमे ।’

‘इन्दस ब्लूज’ का क्रियटिभ प्रोड्युसर तथा कवि अरियब अजहरका व्यंग्यात्मक पंक्तिले पनि वर्तमान समाजको चरित्र प्रस्तुत गरेको छ ।

क्या भुख थे जब हम कुत्ते थे
कलियोँ मे तुम लहराते थे
जो मिल जाए वो हम खाते थे
हम सच्चे थे जब हम कुत्ते थे

ना दौलत थी ना कर्जा था
ना किसिसे पर्दा था
प्यारके भुखे प्यासे थे
हम सच्चे थे जब हम कुत्ते थे

'इन्दस ब्लूज’ पाकिस्तानी शास्त्रीय संगीतको कथा मात्रै होइन । यो पाकिस्तानी राजनीतिको कथा पनि हो । संगीतमा लागेका संगीतकार शास्त्रीय बाजा बनाउने शिल्पकारका जनजीविका र संघर्षको कथा पनि हो । बलोची बेन्जो बनाउन एकदेखि डेढ महिना लाग्ने मुम्ताज अली सब्जल बताउँछन् । देवदारको काठबाट बनाइने यो बाजा त्यति समय लगाएर बनाए पनि किन्ने मान्छे भने नपाइने उनी बताउँछन् ।

अझ बलोचिस्तानलगायतका ठाउँमा दिनदिनै हुने बमबारीका बीच गीत संगीतमा कसले चासो दिन्छ ? उही फकीर जुल्फीकरको लाइन दोहोर्‍याउन मन लाग्यो, जहाँ शान्ति र प्रेम मर्छन्, कसले गर्छ संगीतको वास्ता ?’

वर्षौँदेखि ‘अल्घोजा’ बनाउँदै आएका, सारङ्गी बनाउँदै आएका उस्ताद जियाउद्दीन र इब्राहिम हजानोजस्ता व्यक्तिहरु भने निरन्तर शास्त्रीय संगीत बचाउने बाटोमा हिँडिरहेका छन् । तब न उनीहरुको मुहारमा सुनौलो ‘अमनचयन’ वाला पाकिस्तानको भविष्य झल्किन्छ । त्यसलै त इब्राहिम चाचा भन्छन्, ‘संगीतको कुनै अन्त्य हुँदैन, संगीत र प्रेम कहिल्यै मर्दैन ।’

सबै तस्बिर - फर्स्टपाेस्ट डट कम र इन्दस ब्लूज डट कमबाट

अन्तिम अपडेट: मंसिर १२, २०७६

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया