एक जनाको आँखाबाट चार जनालाई दृष्टि : यस्तो छ नानी प्रत्यारोपणको नयाँ प्रविधि

 कात्तिक २९, २०७६ शुक्रबार २०:१४:१४ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ -  खोटाङकी समिता राई (नाम परिवर्तन)लाई पाँच वर्षको हुँदा आँखामा समस्या देखियो । छोरीको उपचार गर्न परिवारका सदस्य धेरै अस्पताल धाए ।

धामी झाँक्री पनि देखाए । तर समस्या बीसको उन्नाइस भएन । बिस्तारै आँखा धमिलो हुने क्रम बढ्न थाल्यो र पुरै नदेखिने भयो । समिताले आँखा देख्न सक्छिन् भन्ने आश परिवारले गुमाइसकेको थियो ।

तर काठमाण्डौको तिलगंगा अस्पतालमा आएपछि परिवारको आशसँगै समिताको दृष्टि फर्कियो । अहिले उहाँको उमेर १८ वर्ष पुग्नै लागेको छ । परिवारका सदस्यलाई चाहिँ समिताको फेरि जन्म भएजस्तै भएको छ । ५ वर्षको उमेर छँदादेखि अहिलेसम्म आँखा देख्न नसकेकी छोरीको दृष्टि फर्किएकोमा खुशीयाली छाएको छ ।

समिताको आँखाको नानी प्रत्यारोपण गरेको १० महिना भएको छ । तिलगंगा आँखा अस्पतालमा भित्रिएको नयाँ प्रविधि ‘डेसिमेट स्ट्रिपिङ इन्डोथेलियल केराटोप्लास्टी’ (डीएसईके) बाट आँखा देख्ने पनि उहाँ नै पहिलो हुनुहुन्छ । अहिलेसम्म यो प्रविधिबाट ६० जनाले आँखा देखेका छन् । 

एउटै आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने  र यो प्रविधिमार्फत अहिलेसम्म १५ जनाको आँखाबाट ६० जनामा दृष्टि दिइएको तिलगंगा आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वाय्नाले भन्नुभयो ।

एक जनाको आँखाबाट चार जनालाई दृष्टि कसरी ?

मान्छेको मृत्यु भैसकेपछि उसको आँखा निकाल्ने र त्यो आँखा अर्को कुनै आँखा देख्न नसक्ने मानिसमा प्रत्यारोपण गर्न मिल्छ भन्ने त सबैलाई थाहा छ । तर एक जनाको आँखाबाट चार जनालाई कसरी दृष्टि दिन सकिन्छ त ? धेरैका लागि यो प्रविधि नयाँ र नौलो हो । तिलगंगा आँखा अस्पतालमा १० महिनाअघि यो प्रविधिबाट उपचार सुरु भएको हो ।

यसरी उपचार गर्दा सबैभन्दा पहिले डाक्टरले आँखा देख्न नसक्ने बिरामीको समस्या बुझ्छन् । यदि आँखाको नानीमा समस्या भएको हो भने शल्यक्रियाको प्रक्रिया सुरु हुन्छ । अस्पतालको आँखा बैंकमा पहिल्यै निकालेर राखिएको आँखा हुन्छ । त्यही आँखाको नानी निकालेर आँखा नदेख्ने बिरामीको आँखामा राखिन्छ र उसले आँखा देख्न सक्छ ।

अब एउटै मान्छेको आँखाले चार जनालाई कसरी दृष्टि दिन सकिन्छ भन्ने प्रश्न आउँछ । यो कुरा थाहा पाउन आँखाको नानीबारे बुझ्नुपर्ने हुन्छ । डाक्टर रचना सिंह राणाका अनुसार आँखाको नानीमा भित्री र बाहिरी दुई वटा तह हुन्छन् ।

आँखा नदेख्ने मान्छेमा कि त भित्री तहमा समस्या हुन्छ कि त बाहिरी तहमा । भित्री तहमा समस्या छ भने बैंकमा रहेको आँखाको नानीबाट भित्री तह नै निकालेर बिरामीको आँखामा प्रत्यारोपण गरिन्छ । यसो गर्दा बाहिरी तह त बाँकी नै हुन्छ । त्यो बाहिरी तह आँखा देख्न नसक्ने अर्को मान्छेमा बाहिरी तहको समस्या छ भने उसकोमा राखिन्छ । यसरी एउटै आँखाको नानीले दुई जना बिरामी अर्थात एउटा मान्छेको दुईवटा आँखाले चार जनालाई दृष्टि दिन सकिन्छ ।

तिलगंगा आँखा अस्पतालकी डाक्टर रचना सिंह राणाकाअनुसार दुई वटै आँखामा समस्या छ भने पहिले एउटा आँखा देख्ने गराइन्छ । यदि आवश्यकता पर्याे भने पछि दुवै आँखा पनि प्रत्यारोपण गर्न सकिन्छ । तर एक पटकमा एउटा मात्रै आँखा प्रत्यारोपण गर्न सकिने राणाले बताउनुभयो ।

यसरी प्रत्यारोपण गरिएको आँखा पहिलेको आँखा देख्ने शक्तिभन्दा १८ देखि २०  प्रतिशत कम हुन्छ । प्रत्यारोपण गरेको तीन महिनासम्म फलोअपमा जानुपर्छ । ‘त्यसपछि आँखामा सिलाएको भाग काट्नुपर्छ, यो काम सकिएपछि जीवनभर आँखा देख्न सकिन्छ’, डा. राणाले भन्नुभयो ।

निःशुल्क उपचार, दुर्गमलाई प्राथमिकता

तिलगंगा आँखा अस्पतालमा यो प्रविधिमार्फत बिरामीको निःशुल्क उपचार गरिन्छ । नबिल फाउन्डेसनको सहयोगमा बिरामीलाई निःशुल्क उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ । डा. राणाका अनुसार दुवै आँखा नदेख्ने र दुर्गमबाट आएका आएकोलाई पहिलो प्रथमिकतामा राखेर प्रत्यारोपण गरिन्छ । आँखा प्रत्यारोपण गरेको दुई दिनदेखि एक हप्तासम्ममा देख्न सकिन्छ ।

अहिले अरु तीन सय जना बिरामी यो प्रविधिमार्फत आँखा प्रत्यारोपण गर्ने पालो पर्खेर बसेका छन् । २०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो ।

यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ । यस्तै अहिलेसम्म ८० हजार जनाले आँखा दानका लागि मन्जुरी दिएका छन् ।

 

अन्तिम अपडेट: चैत ३, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया