ट्याक्सी चालक र यात्रु दुवैकाे व्यवहारमा परिवर्तन जरुरी छ

 कात्तिक ३०, २०७६ शनिबार २०:८:२० | सिताराम हाछेथु
unn.prixa.net

काठमाण्डाै - ट्याक्सी चालकले प्राय: ठगेको, मिटरमा नगएको भनेर जस्ता समाचारहरु तपाईँ हामीले सुनेको र पढेकै कुरा हुन् । यस्ता गुनासाहरु ट्राफिक महाशाखामा दैनिक रुपमा आउने गर्छन् भने ट्राफिक प्रहरीले केही ट्याक्सी चालकलाई गुनासा अनुसार कारबाही पनि गरिरहेको हुन्छ ।

यस्ता समस्याहरु कम गर्न लागि ट्याक्सी चालक र यात्रु दुवै नैतिक र व्यवहारिक रुपमा सचेत हुन आवश्यक छ । ट्याक्सी चालक र यात्रु दुवैले आफ्नो नैतिकतालाई भुल्नु हुँदैन र आफूले गर्ने व्यवहारमा पनि सुधार गर्नुपर्छ । 

सुधारका सम्बन्धमा ट्याक्सी चालकले अलि बढी ध्यान दिनुपर्ने देखिन्छ । ट्याक्सी चालकले आफ्नो नैतिकतालाई महत्व दिएर आफैँले मिटरमा जाने गर्नुपर्छ । विश्वसनीयताको लागि चालकले आफ्नै ट्याक्सी चलाएको हो भने ट्याक्सीमा आफ्नो परिचय खुल्ने परिचयपत्र, फोन नम्बर राख्न सकिन्छ ।

यदि साहुको चलाएको हो भने साहुको नाम, नम्बर राखेर चलाउन सकिन्छ । अझ त्याेभन्दा पनि राम्रो त ट्याक्सी चालकले आफ्नो व्यक्तिगत र ट्याक्सीसँग सम्बन्धित सबै विवरण खुल्नेगरी भिजिटिङ कार्ड बनाएर ट्याक्सीमा चढ्ने मान्छेलाई दिने गर्नुपर्छ ।

यसाे गर्नाले अर्काेपल्ट ट्याक्सी चाहिएमा या आफ्नो केही सामान छुटेकाे खण्डमा यात्रुहरुले सहजै बुझ्न सक्छन् । यसो गर्दा ग्राहकहरुमा ट्याक्सी चालकको राम्रो प्रभाव पनि पर्छ ।

असल व्यवहार

अर्काे कुरा, सबै चालक असल बन्नुपर्याे । धेरैजसो ट्याक्सी चालकले कुनै ठाउँकाे बारेमा थाहा नभएकाे कोही नयाँ मान्छे ट्याक्सी चढ्न आउँदा धेरै पैसा भन्ने, लामो बाटोबाट लग्ने गरेको गुनासो हामीले पाएका छौँ । यसो गर्दा यात्रुलाई दुःख हुन्छ, समय पनि खेर जान्छ र यात्रु ठगिन्छ। यसबाट ट्याक्सी चालकप्रति यात्रुकाे हेर्ने दृष्टिकाेण नकारात्मक बन्न जान्छ । त्यसैले यसो गर्नु राम्राे हुँदैन ।

नयाँ मान्छे देख्नेबित्तिकै ट्याक्सी चालकले ६० रुपैयाँमा पुगिने ठाँउका लागि ५०० लाग्छ भन्नुहुन्छ, अनि यात्रुले ५०० काे सट्टा ३०० दिन्छु भन्छ । ट्याक्सी चालकले हुन्छ भनेपछि यात्रु कम पैसामा लग्यो भनेर मख्ख पर्छ, तर उसले आफू ठगिएको थाहा पाउँदैन । यस्ताे गर्नुहुँदैन ।

नयाँ होस् या पुरानाे, सुट बुट लगाएको वा सामान्य कपडा लगाएकाे, पढेको होस् या नपढेको ट्याक्सी चालकले सबैको लागि उस्तै र नियमअनुसारको व्यवहार गर्नुपर्छ ।

अब पर्यटन भ्रमण वर्ष आउँदैछ । पर्यटन भ्रमण वर्षमा धेरै पर्यटकहरु नेपाल घुम्न आउँछन् । यस्तो गलत व्यवहार भयो भने पर्यटक पनि ठगिन्छन् । व्यवहार राम्रो भयो भने पो उसले फर्केर आफ्नो देशमा गइ हाम्रो तारिफ गर्छ त ।

ट्याक्सी सफा राख्ने

चालकले ट्याक्सीले नै आफ्नो घर चल्ने भएपछि त्यसको सफा सुग्घर गर्नुपर्छ । प्राय ट्याक्सीकाे बाहिर पनि फोहोर हुन्छ भने भित्र सिटहरु पनि च्यातिएको, गन्हाउने खालकाे हुन्छ । पहिले म ड्युटीमा हुँदा एकजना यात्रुले ट्याक्सीको सिट च्यातिएको र दुर्गन्धित रहेको भनेर गुनासो गर्नुभएकाे थियो । आफ्नो कमाइ नै यसैबाट हुने भएपछि ट्याक्सी चलाउनेले यस कुरामा ख्याल गर्नु जरुरी छ ।  

यात्रुकाे चाहना अनुसारकाे गीत/संगीत बजाउने

याे सामान्य कुरा हो, तर ट्याक्सी चालकले ट्याक्सीमा आफ्नोभन्दा पनि यात्रुको चाहना अनुसारको गीत बजाउने गर्नुपर्छ । ट्याक्सीमा रहेका यात्रुकाे उमेर अनुसारकाे गीत संगीत बजाउनु् राम्राे हुन्छ ।

ट्याक्सीमा चढेको मान्छेले आफूलाई सुन्न चाहेको गीत/संगीत सुन्न पायो भने खुसी हुन्छ । अझै कसैलाई त गीत/संगीत सुन्न मन पनि हुँदैन तर चालकले ठूलो स्वरमा गीत घन्काएको हुन्छ ।

एक जना बुढा बाले एकपल्ट फोन गरेर मलाई भजन मनपर्छ तर ट्याक्सीमा डिस्को गीत बजायो भनेर गुनासो गर्नुभयो । यसमा पनि चालकले ध्यान दिनुपर्छ ।

व्यक्तिगत सरसफाइ

अर्काे कुरा, चालक आफू पनि सफा सुग्घर हुनुपर्छ ।सफा लुगा लगाउने, नुहाइ धुवाई गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । यो कुरा सबै प्रकारका गाडी चलाउने चालकमा लागू हुन्छ ।

अर्काे महत्वपूर्ण कुरा भनेको कहिलेकाही यात्रुले पैसा छैन भन्यो भने तत्काल भाडा नलिइ उसको नम्बर लिएर, उसको घरसम्म पुगेर वा बुवाआमाको नम्बर मागेर पनि पछि पैसा लिन सकिन्छ । कहिलेकाहि त पैसाको निहुँमा यात्रुलाई कुटेको, झगडा गरेको सुनिन्छ, यस्ताे गर्नुहुँदैन । चालक सयंमित हुनुपर्छ भने यात्रुले पनि राम्रोसँग आफ्ना समस्या राख्नुपर्छ । 

यात्रु आफू पनि धेरै कुरामा सचेत रहनुपर्छ । मिटरमा जाने ट्याक्सीमा मात्र जाने नत्र नजाने गर्नुपर्छ । जति भन्यो त्यति पैसामा जाने गरेर आफूले पनि नियम बिगारिरहेको कुरा महसुस गर्नुपर्छ यात्रुहरुले ।

मिटरमा नजाने ट्याक्सी चालकलाई हामीले कारबाही गरेपछि मिटरमा उठ्नेभन्दा बढी पैसा तिरेर जाने यात्रुलाई पनि कारबाही गर्नुपर्छ जस्ताे लाग्छ मलाई । मिटरमा नजाने चालकलाई ३ हजार जरिवाना गरियाे भने मिटरमा उठ्नेभन्दा बढी भाडामा जाने यात्रुलाई छोडेर हुँदैन ।

चालकसँग राम्राे व्यवहार गर्ने

यात्रुले पनि चालकसँग राम्रोसगँ बोल्ने र असल व्यवहार गर्ने गर्नुपर्छ । ट्याक्सी चाहियो भने बाटोमा बसेर ‘ओ ट्याक्सी’ भनेर कराएको देखिन्छ । यसरी सम्बाेधन गर्नुभन्दा अलि राम्रोसँग ‘दाइ, भाइ’ भनेर सम्बोधन गर्दा राम्रो हुन्छ ।

 यात्रुले ‘मैले पैसा तिर्ने हो, मैले जस्तो बोले पनि हुन्छ, जस्तो व्यवहार गरे पनि हुन्छ’ भनेर सोच्नु हुँदैन । चालकले पनि आफ्नो पेसा गरेकाे हाे भनेर पेसा र चालकको सम्मान गर्नुपर्छ । ‘ओ त्यहाँ जाने हाे?’ भन्नुभन्दा ‘दाइ/भाइ त्यहाँसम्म जानुहुन्छ?’ भनेर मिठोसँग बोल्न सकिन्छ ।

एक हातले मात्र ताली बज्दैन भनेको जस्तो चालकको मात्र नभएर यात्रुले पनि आफ्नो बोली र व्यवहार सुर्धानु जरुरी छ । दुवैले आफ्नो बोली र व्यवहारमा सुधार गर्ने हो भने यात्रा रमाइलो हुन्छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया