गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र

 मंसिर १, २०७६ आइतबार ८:५२:२९ | रासस
unn.prixa.net

गुल्मी – रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र ।

हुन त केन्द्रले आफैँ उहाँलाई रकम दिने पनि होइन, तर केन्द्रमा काम गरेवापत उहाँले घर खर्च चलाउने रकम प्राप्त गर्नुहुन्छ । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उहाँको दैनिक काम हो । सोही काम गरेबापत उहाँले आफ्नो दैनिकि चलाउदैँ आउनुभएको छ । उहाँका श्रीमान् रोजगारीकै लागि भारतमा हुनुहुन्छ । सुरुमा अलिकति रकम चाहिए पनि श्रीमान्कै आस गर्ने उहाँ केन्द्रमा काम गर्न सुरु गरेदेखि घर खर्च रकम रकम आफैँ जुटाउनुहुन्छ ।

यही ठाउँकी मिठु क्षेत्रीले पनि कफी अनुसन्धान केन्द्रमा कफीका बोटबिरुवामा पानी राख्ने, जङ्गलको झार तथा घाँस काट्ने र सफा बनाउने, नर्सरी व्यवस्थापन, मल बीउको व्यवस्थापन, सिँचाइजस्ता काम गर्न थालेको तीन वर्ष भयो । श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छन् । तर, आफूसहित छोरी र दुई छोराको आर्थिक खर्च उहाँ आफैँले व्यवस्थापन गर्नुभएको छ । ‘दैनिक ५१७ रुपैयाँका दरले मासिक १५ हजार ५०० रुपैयाँ हुन्छ, तर सबै दिन आउन पाइँदैन’ उहाँले भन्नुभयो, ‘कफी अनुसन्धान केन्द्रले गाउँमै रोजगार दिँदा खुशी लागेको छ ।’ सामान्य रकमको आवश्यकता पर्दा कसैसँग हात जोड्नु नपर्ने, आफ्नै छोराछोरीसँग बसेर काम गर्न पाइने, महिला समूहहरूमा बचत गर्दा पैसाको समस्या नपर्नेजस्ता कार्यमा सहयोग पुग्ने हुँदा उहाँले केन्द्रमै काम गरिरनुभएको छ । त्यसका साथै उहाँले आफँैले कमाएको पैसा र श्रीमान्ले कमाएर दिएको पैसामा समेत फरक पर्ने बताउनुभयो ।

कफी अनुसन्धान केन्द्रमा फूलखेती

कफी अनुसन्धान केन्द्रमा फूलखेती पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, बलेटक्सारमा रहेको कफी केन्द्रमा बनाइएको बगैँचामा फूलखेतीसमेत हुने गर्दछ । 

फूलखेतीकै लागि एक महिला कामदार केन्द्रले नियुक्त गरेको छ । बगैँचामा अहिले सयपत्री, थुङ्गेलगायतका झण्डै आधा दर्जन प्रकारका फूल छन् । ‘यसपालिको तिहारमा मात्रै १४ हजार रुपैयाँको फूल बिक्री भयो, बाँकी बीउका लागि राखिएको छ ।’ विगत पाँच वर्षदेखि केन्द्रको बगैँचामा काम गर्दै आउनुभएकी ४० वर्षीया कमला गौतमले भन्नुभयो, ‘गाउँमै फूल स्याहार्ने काम पाउँदा खुशी लागेको छ ।’ रोजगारीकै लागि श्रीमान् विदेश रहे पनि घर खर्च आफूले चलाउने र श्रीमान्ले कमाएको पैसा बचत हुने उहाँले बताउनुभयो । केन्द्रमै मजदूरी गर्दै आउनुभएकी सरिता गौतमले पनि बलेटक्सारमा अनुसन्धान केन्द्र स्थापना भएपश्चात धेरै महिलालाई जीविकोपार्जनको माध्यम भएको प्रतिक्रिया दिनुभयो ।

महिला–पुरुषलाई समान ज्याला

हाम्रो समाजमा अझै पनि महिला र पुरुषलाई कामको ज्यालामा विभेद गर्ने गरिन्छ । तर, बलेटक्सारको कफी अनुसन्धान केन्द्रमा काम गर्ने श्रमिकको पारिश्रमिक समान कायम गरिएको छ । समान प्रकृतिको काम गर्ने श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ५१७ रुपैयाँ प्रदान गरिन्छ ।

जसले गर्दा महिलालाई पनि हौसला मिलेको छ । ‘गाउँमा पुरुषको तुलनामा हामीलाई कम ज्याला दिने गर्दछन्, तर यस केन्द्रमा समान ज्याला छ’ केन्द्रमै काम गर्न आएकी रुरु गाउँपालिका–३ ओखलढुङ्गाकी कमला ज्ञवालीले भन्नुभयो, ‘केन्द्र स्थापना भएपछि सामाजिक र आर्थिक पक्षमा धेरै सहज भएको छ ।’ उहाँले पनि नर्सरी सफा गर्ने, गोडमेल गर्ने, कफी टिप्नेलगायतका काम कफी अनुसन्धान केन्द्रमा गर्दै आउनुभएको छ ।

चालिससम्म कामदारले वार्षिक २७ लाख बुझ्छन्

कफीको उद्गमस्थल गुल्मीमा कफीको अनुसन्धान गर्ने उद्देश्यले विसं २०७१ मा राष्ट्रिय कफी अनुसन्धान केन्द्र स्थापना भयो । केन्द्रले कफीको अनुसन्धान मात्र गरेन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्‍यो । कार्यालयमा काम गर्ने सात कर्मचारी छन् । तर, स्थानीय कामदार भने त्यो भन्दा तेब्बर सङ्ख्यामा छन् । केन्द्र स्थापना भएदेखि नै स्थानीय कामदार नियुक्त गरिएको थियो । प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम ५१७ तोकिएको छ । तर, सामान्यबाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ ।

केन्द्रमा अहिले २२ नियमित कामदार छन् । तीमध्ये अधिकांश पाँच वर्षदेखि नै मजदूरीको काम गर्दै आएका छन् भने कतिले दुई वर्षदेखि काम गर्दै आएका छन् । केन्द्रमा बढीमा ४० जनासम्मलाई मौसमी रोजगारी कार्यालयले दिने गरेको कार्यालयका संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । शुक्रबार र शनिबार बिदा हुने तथा अन्य दिन पनि कोही कामदार नआउने हुँदा एक जनाको मासिक ज्याला बढीमा १२ हजार रुपैयाँसम्म हुने गरेको उहाँले बताउनुभयो । त्यसरी कार्यालयमा काम गरेवापत स्थानीय मजदूरले वार्षिक २२ देखि २७ लाख रुपैयाँसम्म लैजाने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नियुक्त गरिएका कामदारको रकम नेपाल सरकारले नै उपलब्ध गराउने कार्यालय प्रमुख थापाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया