व्यवसायिक माछापालन : १ करोड लगानी, वार्षिक १८ लाख आम्दानी

 मंसिर २, २०७६ सोमबार ९:१३:३५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – तनहुँका पुष्पराज भट्टराईले काठमाण्डौमा गएर १८ वर्षसम्म व्यापार व्यवसाय गर्नुभयो । तर पनि सोचेजस्तो आम्दानी भएन । कृषि कर्ममा पहिलेदेखि रुचि थियो । त्यसैले उहाँ गाउँघरमै कृषि उद्यम गर्ने सोच लिएर काठमाण्डौबाट तनहुँ नै फिर्ता हुनुभयो ।

तनहुँको भानु नगरपालिका–११, मानेचौका मालेबगरमा अहिले उहाँले व्यवसायिक माछापालन सुरु गर्नुभएको छ ।

‘लामो समयसम्म काठमाण्डौ बसियो । गाउँघरमै केही उद्यम गर्नुपर्छ भनेर गाउँ आइयो । अहिले गाउँमै माछापालन व्यवसाय सुरु गरेको छु,’ उहाँले भन्नुभयो, ‘गोदावरीको माछा फर्म देखेपछि मलाई माछापालनमा लाग्ने हौसला मिल्यो ।’

५० लाखको लगानीमा माछा पालन सुरु

‘मिरमिरे कृषि फर्म’ दर्ता गरी उहाँले २०७० सालबाट व्यवसायिक माछापालन सुरु गर्नुभएको हो । झण्डै १७ रोपनी जग्गामा ४ वटा माछापोखरी बनाइ उहाँले माछा पाल्दै आउनुभएको छ । उहाँले ५० लाखको लगानीमा माछापालन व्यवसाय सुरु गर्नु भएको हो ।

‘जग्गा खरिद, संरचना निर्माणमा गरी ५० लाखको लगानीमा माछापालन सुरु गरेको हुँ,’ उहाँले भन्नुभयो, ‘अहिले यस व्यवसायमा झण्डै १ करोड लगानी भइसकेको छ ।’

यस क्षेत्रमा खासै व्यवसायिक माछापालन नभइरहेको र स्थानीय ठाउँमा माछाको माग बढ्दो देखेकाले माछापालन व्यवसायमा आफू लागेको भट्टराई बताउनुहुन्छ । जनकपुर र दमौलीमा उहाँले माछापालनसम्बन्धी आवश्यक तालिमसमेत लिइसक्नु भएको छ ।

उहाँले चार ठूला माछापोखरीमा माछा पाल्दै आउनुभएको छ । चार वटा माछापोखरीमा झण्डै १ लाख माछाका भुरा हुर्काउन सकिने उहाँ बताउनुहुन्छ । 

अहिले उहाँको माछापोखरीमा कमनकार्प, बिग हेडकार्प, ग्रास कार्प, रहु, नैनी, पंगासेस जातका माछा छन् ।

माछा पालनसँगै कुखुरापालन

बीचको केही समय गाईपालन गर्नुभएका भट्टराइले अहिले गाईपालन छोडी माछापालन र लोकल कुखुरापालन गरिरहनु भएको छ । बजारमा माग र मूल्य दुवै राम्रो रहेकाले माछापालन र लोकल कुखुरा पालनमा आफूले जोड दिएको उहाँ बताउनुहुन्छ ।

अहिले उहाँको फर्ममा २ सय लोकल कुखुरा छन् । उहाँले प्रतिकेजी ६ सय रुपैयाँमा उत्पादित कुुखुराको मासु बिक्री गर्दै आउनुभएको छ । उत्पादन स्थानीय बजारमै खपत हुँदै आएको छ ।

वर्षमै १८ लाखको माछा बिक्री

गएको वर्ष १८ लाख रुपैयाँ बराबरको माछा बिक्री गरेको उहाँ बताउनुहुन्छ । चालु आर्थिक वर्षमा तीन क्विन्टल माछा बिक्री भएको उहाँ बताउनुहुन्छ । उहाँले प्रतिकेजी ५ सय रुपैयाँका दरले माछा बिक्री गर्दै आउनुभएको छ ।

बजारको कुनै समस्या छैन । माछा बिक्रीका साथै उहाँले फर्ममै माछाका विभिन्न परिकार बनाइ बेच्दै आउनु भएको छ । स्थानीय बजारमा नै उहाँका माछा बिक्रि भइरहेका छन् । उहाँको फर्ममा ताजा माछाका विभिन्न परिकारको स्वाद लिन लमजुङ, तनहुँका विभिन्न ठाउँबाट मानिसहरु पुग्छन् ।

माछाका परिकार बिक्रीबाट पनि कमाइ

माछाका परिकार बिक्रीबाट पनि राम्रो कमाइ भइरहेको उहाँ बताउनुहुन्छ । माछा बिक्रीभन्दा माछाका परिकार बनाइ बेच्न सके फाइदा हुने उहाँको बुझाइ छ ।

‘फर्ममै माछाका विभिन्न परिकार तयार हुन्छ । माछा खान विभिन्न ठाउँबाट मानिसहरु आउँछन्, उहाँले भन्नुभयो, ‘माछाका परिकार बिक्रीबाट पनि कमाइ भएको छ । माछा बिक्रीभन्दा माछाका परिकार बनाइ बेच्न सके फाइदा हुन्छ ।’

नाउँदीखोलाको आडैमा रहेको माछापोखरी छेउ–छाउमा बनाइएका स–साना कटेजमा बसी ताजा माछाका विभिन्न परिकाको स्वाद लिन पाउँदा यहाँ आउनेहरु खुशी मान्छन् ।

तीन जनालाई रोजगारी

घाम उदाएदेखि नअस्ताएसम्म भट्राईको प्राय : समय फर्ममै बित्ने गर्छ । कृषि कर्ममा भट्टराईलाई श्रीमती कल्याणी पौडेलको पनि उत्तिक्कै सहयोग मिलेको छ । फर्ममा तीन जनाले रोजगारीसमेत पाएका छन् । भट्टराई दम्पत्तीका दुई छोरा छन् । उनीहरु पढ्दै छन् ।

अहिले पनि फर्मबाट माछा बिक्री भइरहेका छन् ।

पोखरीमा हुर्किरहेका माछा जाडो महिना कटेपछि निकाल्ने सोचमा हुनुहुन्छ उहाँ । फागुन–चैतमा माछा निकाल्दा झण्डै ४० क्विन्टल माछा उत्पादन हुने अनुमान छ,’ उहाँले भन्नुभयो, ‘फर्ममा जाडो महिनाभर पुग्ने माछा पनि छन् ।’

उहाँले माछापालनमा लगानी विस्तार गर्दै लैजानुभएको छ । माछापालन व्यवसायलाई नै उच्च प्राथमिकताका साथ अघि बढाउने आफ्नो सोच रहेको भट्टराई बताउनुहुन्छ ।

माछापालनबाट मनग्य कमाउने सकिने

पोखरी, पानीको उचित व्यवस्थापनकासाथै माछाका भुरा र दानाको छनौटमा ध्यान दिई माछापालन गर्न सके गाउँघरमै माछापालन गरी मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ ।

‘माछापालन सजिलोसँगै जोखिम व्यवसाय पनि हो,’ उहाँले थप्नुभयो, ‘राम्रो दाना, भुरा, पोखरी, पानीको व्यवस्थापन गर्न सकेमा पैसा कमाउन खाडी जानु पर्दैन । गाउँघरमै माछा पालेर मनग्य कमाउन सकिन्छ । सजिलै गुजारा चलाउन सकिन्छ ।’

उहाँले कुलोबाट नाउँदीखोलाको पानी ल्याएर माछा पाल्दै आउनुभएको छ । बर्खामा पानीको समस्या हुने उहाँ बताउनुहुन्छ ।

‘कुलोबाट पानी ल्याएर माछापालन गरिएको छ । बर्खामा बाढीले कुलो भत्काइरहन्छ । समस्या हुन्छ,’ उहाँले भन्नुभयो । सम्बन्धित निकायबाट साथ–सहयोग पाए ‘डीप बोरिङ’ गरी पानीको समस्या समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ ।

गएको वर्ष भानु नगरपालिका, तनहुँबाट ७० हजार रुपैयाँ संचरना मर्मतका लागि सहयोग मिलेको, त्यसको अलावा सम्बन्धित निकायबाट खासै सहयोग पाउन नसकेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ ‘किसानलाई राज्यबाट आवश्यक साथ–सहयोग हुनु जरुरी छ ।’

अन्तिम अपडेट: मंसिर १८, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया