तरुण दल नेपालगञ्जका नगर सभापति शाह पुर्पक्षका लागि जेल चलान

 मंसिर २, २०७६ सोमबार १९:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - अमेरिकी पेस्तोलसहित पक्राउ परेका नेपाल तरुण दलका नेपालगञ्ज सभापति सन्दीपजङ्ग शाहलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला अदालत बाँकेका न्यायधीश दिलिपराज पन्तको एकल इजलासले सोमबार सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सन्दीपसँगै पक्राउ परेका नेपालगञ्जका यमबहादुर बुढा, प्रितम थापा र माधव नेपालीलाई जनही एकलाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको छ ।

प्रहरीले शाहसहित ६ जनालाई नेपालगञ्ज–२० मनिकापुरमा रहेको नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गमा रहेको शाहको  बा १८ च ४२११ नम्बरको खैरो मारुती सुजिकी
कारको सिटमुनि बनाइएको फल्स बटमबाट पेस्तोल र त्यसमा लाग्ने गोली लोड गरी लुकाइ राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकामध्ये दुई जनालाई अनुसन्धानपछि रिहा गरिएपछि तरुण दलका नगर सभापति शाहसहित बुढा, थापा र नेपालीलाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको हो ।

कात्तिक १४ गते पक्राउ गरिएका तरुण दलका नगर सभापति शाहलाई तरुण प्रहरीको मिलेमतोमा फसाइएको भन्दै प्रहरी र प्रशासनविरुद्ध तरुण दलले आन्दोलन समेत गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया