भगवानलाई पनि चोरीकै डर !

 मंसिर ३, २०७६ मंगलबार १३:२३:५३ | रासस
unn.prixa.net

उपल्लो डोल्पाको साल्दाङ गाउँमा रहेकाे बाेन स्तुपा । तस्बिर : किमकिम डटकम

जाजरकोट – भगवान पनि चोरी हुन्छन् भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।

पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासी तम्सु गाल्वा लामाले बताउनुभयो । आधाभन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्य भएको छ ।

उपल्लो डोल्पाको साल्दाङ । तस्बिर : किमकिम डटकम

अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका छ वटा प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताउनुभयो ।

उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँको रुपमा गणना हुने गर्दछ । बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १०७ वटा गुम्बा दर्ता भएका छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।

गर्मीयाममा मात्र यहाँका स्थानीयवासी उपल्लो डोल्पामा बस्छन् भने चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्दछन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमा माथि अदालतमा मुद्दा चलिरहेको छ ।  पुर्पक्षका लागि थुनामा रहेको रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले उपल्लो डोल्पामा रहेका बुद्धमूर्ति, गुम्बाको संरक्षणका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ, जिल्ला सुरक्षा समितिको बैठक बसेपछि त्यहाँको सुरक्षाका लागि छिट्टै निर्णयमा पुगिने छ ।” अहिले उपल्लो डोल्पामा हिमपात कारण जान सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौँ, यहाँले भन्नुभयो ।

उपल्लो डोल्पाको धो तराप गाउँ । तस्बिर : किमकिम डटकम

चिनियाँ सीमा नाका नजिक भएकै कारण चोरी निकासी नियन्त्रणमा थप समस्या भएको छ । समूहमा आउने डाँकाको समूहले गुम्बामा रहेका लामालाई बाँधेर चोरी गर्दै आएका छन् । यहाँ रहेका बुद्धमूर्ति कति मात्रामा छन् र कसरी राखिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।

कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा स्थापित मात्र नभएर धार्मिकरुपमा पनि उत्तिकै महत्व राख्ने उपल्लो डोल्पाका संरचना जोगाएर संरक्षण गर्नसके हरेक दृष्टिकोणले फाइदामा लिन सकिने छ । राज्यले यहाँ भएका बहुमूल्य वस्तुको चोरी, निकासी र पैठारी रोक्नका लागि विशेष योजना बनाएर युद्धस्तरमा काम नगरे सबै भएका वस्तु हराएर जाने निश्चित भएको सरोकारवाला बताउँछन् ।

स्थानीयवासीलाई विशेष तालीम दिएर संरक्षणका लागि जोड दिन सके केही समस्या हल हुनसक्ने बुझाइ स्थानीयको छ । स्थानीय सरकारले पनि इतिहाससँग जोडिएका वस्तु संरक्षण गर्न पहल कदमी लिनुपर्ने स्थानीयवासी बताउँछन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया