भान्साको रिपोर्ट कार्ड : नुन बेसार अड्कल्न डिस्टिङ्कसन, भाँडा टल्काउन जस्ट पास !

 मंसिर ३, २०७६ मंगलबार १७:३२:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

यसपालि अचम्मै भयो ! भात गिलो पनि भएन, तरकारीमा नुन चर्को पनि भएन । खाँदा ट्वाक्क, स्वादिलो, आफैलाई उल्कै मीठो भयो ।

एक महिना लगातार भात, तरकारी पकाएपछि श्रीमतीसित डराइडराइ सोधेँ – यसपटक मेरो भान्साको परीक्षा कस्तो भयो त ? स्कुल पढाउने श्रीमतीले फ्याट्टै भनिन्, ‘समग्रमा राम्रै अंक ल्याएर पास हुनुभयो । केहीमा डिस्टिङ्कसन आयो, केहीमा जस्ट पास !’

सुनेर दङ्ग परेँ । उबेला एसएलसीमा फस्ट डिभिजन आएको बेलामा जस्तै नाक फुल्यो ।

उनले हाँस्दै थपिन्, ‘नुनतेल र बेसार अड्कल्न सिपालु हुनुभयो । भान्साको सरसफाइ र कसिंगर लगाउन पहिलेभन्दा जान्नुभयो । तर सिमीको धर्सा राम्ररी फाल्ने र भाँडा टलक्क टल्काउने काममा चाहिँ अझै सुधार गर्न बाँकी छ ।’

जे होस्, समग्रमा भान्साको रिपोर्ट कार्ड राम्रै आयो । गद्गद् भएँ । किनकी जिब्रोलाई ट्वाक्क हुनेगरी भात तरकारी पकाउनै आउँदैन । आफैले पकाएको भात दुई गासभन्दा बढी रुच्दैन ।

त्यसमाथि अलि वर्ष पहिलेसम्म मलाई भान्साको काम कामजस्तै लाग्दैन थियो । श्रीमतीसित प्रायः फूर्ति गर्थेँ– तिमी त्यही स्कूल ओहोरदोहोर गर्ने त हो, म त बिहानदेखि बेलुकासम्म जागिर खाँदाखाँदा हैरान छु ।

श्रीमतीले नभ्याएको र आफू फुर्सदिलो भएको बेलासमेत भान्साको काममा कहिल्यै सघाइनँ । श्रीमती बिरामी भएपछि त जसरी पनि गर्नै पर्यो । अलि वर्ष पहिलेजस्तै यसवर्ष पनि श्रीमती भान्सामा काम गर्न नसक्ने गरी लामो दिन बिरामी भइन् । आमाले म आउँछु भात पकाउन भन्दै हुनुहुन्थ्यो, मैल पर्दैन म अब सक्छु भनेर फूर्ति लगाएँ ।

भात जाबो नै बनाउन त त्यति झण्झट होइन । कुकरमा यसो चामल राखेर खलल पानी हाल्यो । ग्यास सल्कायो । चुल्होमाथि कुकर बसाल्यो । दुई सिटी लगाएपछि पुग्यो । तर दाल, तरकारी र अचार बनाउनुचाहिँ साह्रै अल्छीलाग्दो काम ।

यही काम जाँगर चलाएर गर्ने पुरुष मित्रहरु पनि देखेको छु । मेरो बा पनि जिब्रोमा झुण्डिने गरी ट्वाक्क पारेर भात, तरकारी बनाउनुहुन्छ । भाइहरु पनि उस्तै सिपालु छन् । तर म अल्छी बरु भोकै बस्ने, आफैले पकाएर खान नखोज्ने । पकाउन खोज्दा पनि नजान्ने । कहिले पानी बढी भएर भात गिलो हुने । कहिले थोरै भएर भाँडै डढ्ने । कहिले तरकारीमा नुन नपुग्ने, कहिले चर्को हुने ।

दाल र तरकारीमा नुनबेसार, भुटन, मरमसला अड्कल्न कहिल्यै जानिनँ । त्यसमाथि तरकारी केलाउनेदेखि पकाउनेसम्मको काम साह्रै पट्यारलाग्दो ।

लसुन केलाउ, प्याज केलाउ । तरकारी पखालपुखुल र काटकुट पार । प्याज काट्नभन्दा सिमी केलाउन गाह्रो । सिमी केलाउनभन्दा आलु ताछ्न साह्रो । जिरा, खुर्सानी पिँध, कराई बसाल, तेल खन्याउ, तेल ताते नतातेको ठम्याउ, ज्वानो मेथी पड्काउ, झ्वाइँ पारेर ओइर, चलाइचुलाइ बनाउ, बेसार र नुन अड्कल, पानी हाल, पाके पछि झिक ।

यी सबै भाँती पुर्याएर गर्न निकै सीप र जाँगर चाहिने रहेछ । खानुअघिको यो तयारी र खाइसकेपछिको जुठोचुल्हो र धोईपखालीको काम पनि उत्तिकै झण्झटिलो । जुठो निखारेर भाँडा पखाल, चुल्हो पुछपाछ गर, राखनधरन गर । यति काम गर्न दिनभर जागिर खाएकोभन्दा पनि बढी मेहनत र परिश्रम गर्नुपर्ने । जागिरे काममा भन्दा बढी सीप चाहिने । तेल नताती तरकारी ओइरिदा तीतो हुने, बढी तात्दा तेल उछिट्टिएर आफैलाई पोल्ने । तरकारी ओइरिएर भाँडा पखाल्न थाल्दा नुन हाले, नहालेको पत्तो नहुने । ख्यालख्यालको हैन रहेछ भान्छाको काम ।

श्रीमतीलेभन्दा तेब्बर बेसी काम गर्छु भन्ने मलाई लाग्थ्यो । तर लगातार भान्साका ‘लुतेधन्दा’ गर्दा थाहा भयो, मैलेभन्दा श्रीमतीले कति हो कति बढी काम गर्ने रहिछिन् । अनि दिनभर घरधन्दा मात्र गर्ने आमा, काकी र हजुरआमैहरुले त जागिरेलेभन्दा पनि चौबर बढी काम गर्ने रहेछन् ।

श्रीमतीले अघिल्तिर बसेर सिकाउँदासमेत मैले अझै तरकारीमा बेसार, मरमसला र नुनभुटन अड्कल्न राम्रोसँग जानिसकेको छैन । पानी अड्कलेर भात पकाउने ढंग पुगिसकेको छैन । टलक्क टल्काउने गरी भाँडा धुन र सिनित्त हुने गरी पुछ्न र भुइँ बढार्न सिकिसकेको छैन । हात नकाट्ने गरी तरकारी काट्ने र नपोल्ने गरी पकाएको भाँडा झिक्ने भाँती पुगिसकेको छैन ।

आमा, काकी, श्रीमती र हजुरआमैहरुले जस्तो मीठो भात तरकारी बनाउन सक्ने जाँगर र सीप हुन अझै मैले धेरै मेहनत गर्नुपर्छ ।

केही दिन भान्साको अनुभवबाट मैले थाहा पाएँ, जागिरेको भन्दा भान्सा र घरधन्दा गर्नेहरुको काम कति गाह्रो हो कति । दुःख, कष्ट, हैरानी र झण्झट उस्तै । जागिरेको त बिदा हुन्छ, पैसा हुन्छ ।

भान्सा र घरधन्दामा काम गर्नेहरुलाई बिदा र तलब खै ? म जागिर खान्छु भनेर नाक ठाडो पार्नेले जस्तै म घरधन्दा र भान्साको काम गर्छु भनेर छाती फुलाउने पालो हाम्रा आमाहरुको कहिले आउँछ ? भान्साको काम त केही होइन भनेर सधैँ आमा र श्रीमतीको घरधन्दालाई अवमूल्यन गर्ने म जस्ता पुरुषले जागिरे भनेर धाक लगाउनु नै बेकार छ ।

हामी धेरै जागिरेहरुले बल्लतल्ल आफ्नो एक्लो ज्यान मात्र पाल्न सकेका छौँ । जागिर नहुने आमा, काकी र आमैहरुले त आफूलाई अड्कलेर भए पनि परिवारको पेट भरेका छन् ।

जागिरको धाक लाएर एक्लो ज्यान पाल्न पनि धौधौ पर्नेले घरधन्दालाई पनि गतिलो कामको रुपमा सम्मान गर्न सिक्नुपर्छ । घरधन्दालाई पनि श्रमको रुपमा गणना गर्नुपर्छ । दुई दिनको भान्सा अनुभवले मेरो त यति चेत खुल्यो भने मभन्दा चौबर बेसी गर्नेहरुलाई त यो कुरा कति खड्किएको होला ?

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया