प्रधानमन्त्रीबारेका सूचना लुकाइँदैन: प्रेस सल्लाहकार थापा

 मंसिर ३, २०७६ मंगलबार १८:१४:० | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताउनुभएको छ ।

मंगलबारैदेखि सल्लाहकारको औपचारिक काम थाल्नुभएका थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासम्म पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।  

उहाँले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमी हुन दिइने छैन’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पु¥याउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिस गर्नेछु ।’ 

सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउनेसमेत बताउनुभयो । पारदर्शितालाई जोड दिने भन्दै उहाँले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताउनुभयो ।

उहाँले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । 

सरकारले राम्रो काम गर्दा स्याबासी र गलत काम गर्दा खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभयो । सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराउनुभयो । 

भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापा प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त हुनुभएको हो । 

उहाँलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि उहाँले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका थापा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया