पूरा कार्यकाल ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

 मंसिर ४, २०७६ बुधबार १५:५८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केपी शर्मा ओलीले पूरा कार्यकाल प्रधानमन्त्री बन्नु हुने पक्का भएको छ ।

बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई पूरा अवधि प्रधानमन्त्री बन्ने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि ओली पूरा अवधि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । नयाँ सहमतिअनुसार ओलीले अब झण्डै तीन वर्ष सरकारको नेतृत्व गर्नु हुनेछ ।

सचिवालय बैठकमा नयाँ बन्ने मन्त्रीहरुका विषयको टुंगो लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केपी शर्मा ओलीले नै बाँकी कार्यकाल सरकारको नेतृत्व गरेर राजनीतिक स्थायित्वको सन्देश दिन चाहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टीको काममा केन्द्रित हुने पनि उहाँले बताउनुभयो । दुई अध्यक्षबीचको आपसी परामर्शमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णय पनि पार्टीले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष दाहालले यसअघि पार्टी सञ्चालनको कार्यकारी अधिकार भने आफूलाई दिन प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष ओलीसँग आग्रह गर्नु भएको थियो । 

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्याे ।

वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल देशबाहिर हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया