रसुवागढी नाका : सुख्खा बन्दरगाहको शिलान्यास

 मंसिर ४, २०७६ बुधबार १७:१५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास भएको छ ।

दुई वर्ष अघिदेखि निर्माणका लागि प्रक्रिया अघि बढाएको भए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन ।

नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र चीनको तर्फबाट इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ् तिब्बत कमर्स डिपार्टमेन्ट अफ् चाइनाका निर्देशक पियान चनले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।

रसुवागढी नाकालाई व्यवस्थित बनाउनका लागि अघि बढाइएका प्रमुख तीन काममध्ये यो एक हो । स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति, नाकामा एकीकृत जाँच चौकीको निर्माण र सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा रहेको छ ।  

चीन सरकारको सहयोगमा निर्माण हुन लागेको बन्दरगाह ३०  महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयकी उपसचिव पार्वती अर्यालले बताउनुभयो । ‘बुधबारदेखि औपचारिक रूपमै काम अघि बढेको छ’, उहाँले भन्नुभयो, ‘निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि हामी निरन्तर समन्वय गर्छौं ।’

बन्दरगाह निर्माणका लागि जिम्मा पाएको तिब्बत फुली कन्ट्रक्सनले कामदार र आवश्यक सामग्री साइडमा ल्याइसकेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ ।

चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको इन्टरमोडल यातायात विमास समितिका इन्जिनियर प्रमोद आचार्यले बताउनुभयो ।  

बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक तथा ल्याब रहने छ । बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुई वटा जाँचपास स्थल रहने छ ।

बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ । सुख्खा बन्दरगाह निर्माण सुरु भइसक्दा पनि मुआब्जाको विषय नटुङ्गाएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया